सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति बन्ने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको हो।
प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए।
शुक्रबार बस्ने मन्त्री परिषद्ले यस विषयमा टुंगो लगाउने छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए।
माओवादी नेता बस्नेतले बैठकपछि भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो र त्यसले पूर्णता प्राप्त गर्न बाँकी थियो। तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठनको काम अघि बढाउने समझदारी भएको छ। अब एक(दुई दिनभित्रमा सर्च कमिटीले पूर्णता प्राप्त गर्छ र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुन्छ।’