नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ।
संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।
सो घटनाविरुद्ध संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति निकालेर निन्दा गरेका हुन्।
‘नेपाल हालै युनिफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र, संघर्षरत् दुवै पक्षलाई शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ।’
जरायलले लेबनानमा हिजबुल्लाहलक्षित हमला गरिरहेको छ।
५० देशका झन्डै १०,००० यूएन शान्ति सैनिक लेबनानमा तैनाथ छन्, जसमा ८७६ नेपाली रहेको युनिफिलको वेबसाइटमा उल्लेख छ।
१९७८ देखि यी सैनिकहरूले लितानी नदी र ‘ब्लु लाइन’ (नीलो रेखा) बीच गस्ती गरिरहेका छन्।
लेबनान र इजरायलबीच संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सीमालाई ब्लु लाइन मानिएको छ ।