काठमाण्डौँ असोज १९ । पछिल्लो समय विभिन्न विवाद र आलोचनाले घेरिएका प्रधानमन्त्री केपी शर्मा ओली यस अघि प्रधानमन्त्री हुँदा जति लोकप्रिय थिए अहिले त्यो चार्म घटेको छ ।
चौतर्फी सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरुमा उनको आलोचना तीव्र देखिन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जालमा फलोअर्स निरन्तर घटिरहेको छ । खासगरी काठमाण्डौँका मेयर बालेन शाहसँगको टकरावपछि उनलाई अनफलो गर्ने अभियानै चलाईएको थियो ।
बरु ओली भन्दा पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको सामाजिक सञ्जालमा लोकप्रियता बढ्न थालेको छ ।
गत भदौ १८ गतेसम्म प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका फेसबुक फलोअर्स ६ लाख ६६ हजार थिए भने पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ५ लाख ७८ हजार।
आजको दिनमा हेर्दा ‘कमरेड प्रचण्ड’फेसबुक पेजमा फलोअर्सको संख्या ६ लाख २९ हजार पुगेको छ भने ‘केपी शर्मा ओली’ फेसबुक पेजको फलोअर्स संख्या घटेर ६ लाख १० हजारमा झरेको छ।
मेयर शाहले गत भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस भदौ १८ गते फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि फेसबुकमा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए।
जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते ५ लाख ८९ हजारमा झरेको थियो। पछि केही ‘रिकभर’ भए पनि ओलीको फेसबुक फलोअर्स पहिलेकै अवस्थामा पुगिसकेको छैन ।
यहीबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फेसबुक फलोअर्स बढ्दै गएको छ ।
पछिल्लो समय प्रधानमन्त्री हुँदा ठूला ठूला नेताहरुलाई जेल हालेका प्रचण्ड अहिले पनि बाढी पहिरो पीडितको घर आगनमा र पार्टी कार्यक्रममा तीव्रताका साथ लागिरहेका छन् ।
अहिले प्रचण्डले मर्निङ वाक गरेको देखि विभिन्न गतिविधिको भिडियोहरु आउने गरेको छ जसमा लाईक र कमेन्ट प्रधानमन्त्री हुँदाको बखतमा भन्दा बढी हुने गरेको छ ।
यसको कारण सामाजिक सञ्जालमा ओली भन्दा बरु प्रचण्ड नै ठिक थिए भन्ने सन्देश प्रवाह बढ्दै जानु पनि हो ।