सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

  • शुक्रबार, साउन ३२, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

सोलुखुम्बु, ३२ साउन ।सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ ।

हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।  गृह मन्त्रालयले भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो । बाढी आएको स्थान खुम्बु पासाङल्यामु गाउँपालिका–५ थामेमा पर्छ । त्यसबाट आएको बाढी अहिले थामे खोला हुँदै दुधकोशी नदीमा मिसिएको छ ।रक्षामन्त्री मानवीर राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन नर्ग निर्देशन दिइएको बताए ।राईका अनुसार हालसम्म बाढीले नदी प्रवेश गरी पुल र अरु भौतिक संरचनामा क्षति पुर्‍याएको विवरण आइनसकेको पनि बताए । रक्षामन्त्री राई बाढी आएको खुम्बु पासाङल्यामु गाउँपालिकाको छिमेकी पालिका माप्य दुधकोशी गाउँपालिकाका स्थानीय हुन् ।

थामे गाउँमा बाढीले क्षति पु(याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए । उनले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताए ।

प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी