साउन ३२ काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाबारे चासो व्यक्त गरेका छन्।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाबारे गृहमन्त्री लेखकले चासो देखाएका हुन्।
उनले प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग दुर्घटनाबारे जानकारी लिँदै दुर्घटनाको कारण खोजी गर्न निर्देशनसमेत दिएको गृहमन्त्रालयको सचिवालयले जनाएको छ।
‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’ आइजिपी कुँवरलाई गृहमन्त्री लेखकले भने।
बिहीबार गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकको सनाखत भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय भक्तपुरले आफन्त भनिएका व्यक्तिहरू सम्पर्कमा आएको जनाइएको छ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरेको छ ।
हिजो सो दुर्घटनापछि गटठाघरमा दिनभर तनाव पैदा भएको थियो ।