काठमाडौं साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले रवि लामिछानेमाथि सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने भन्दै उल्टै सभापतिले राजीनामा दिनु पर्ने माग गरेका छन् ।
उनलाई निष्कासनका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जवाफमा उनले लामिछानेकै राजीनामा माग गरेका हुन् ।
ढकालले नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको बिउ लामिछानेका कारणले नाश हुँदै गएकाले राजीनामा दिनुपर्ने माग गरेका छन्। ‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईँको कारणले धुमिल हुँदै गएको छ। नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ। पार्टी जोगाउने मौका दिनुहोस् ।’उनले भनेका छन्,‘ वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस्। पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु। तपाईँले प्रत्येक पटक भाषण गरेका कुरा आज व्यवहारमा देखाइदिनुहोस्।’
‘ तपाईँ रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईँ रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ ।’ ढकालले भनेका छन्, ‘मैले आजसम्म तपाइँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्। तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ। नैतिक रूपले पतित हुनु भएको छैन भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु ।’
सहकारी ठगी मुद्दामा तपाइँमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भन्दै ढकालले प्रश्न गरेका छन्। उनले सर्वोच्च अदालतको संयुक्त इजलासले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेकाले फैसला मान्ने कि नमान्ने ? पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? भन्दै प्रश्न गरेका छन्।
‘उनले आफूले पार्टीका नेताहरू माथि झुटा आरोप नलगाएको बताएका छन्। उनले भनेका छन्,‘मैले पार्टी स्थापना भए देखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टी भित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरू माथि झुटा आरोप लगाउने जस्ता क्रियाकलाप गरेको छैन र गर्ने पनि छैन। पार्टी स्थापना हुनु अगाडी बाट नै वैकल्पिक शक्तिको रूपमा पार्टीलाई उभ्याउन लागिरहेको थिए, लागिरहेको छु र लागिरहने छु ।’