साउन २५ काठमाडौँ । निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा प्रदर्शन तथा धर्ना शुरु भएको छ ।
कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरेको हो ।
उनीहरूले “निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने” लगायतका मागहरू राखेका छन् ।
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको थियो । कुर्मीले साउन ९ गते बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए।