लुम्बिनी, ७ साउन : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो ।
निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख समक्ष बुझाउनुभएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि नेपालको संबिधान धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ : ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान भएको थियो ।
को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य ?
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१ गते जन्मिनुभएको हो ।
चेतनारायण आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा सङ्गठित हुनुभएको थियो । उहाँका पिता टीकाराम अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकाले उहाँ बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध हुनुभएको हो ।
विसं २०४० मा अनेरास्ववियु जिल्ला कमिटी, अर्घाखाँचीको सदस्यमा निर्वाचित हुनुभएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनका क्रममा बुटवल जानुभयो र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष र जिल्ला कमिटी सदस्य हुनुभएको थियो । अर्घाखाँची फर्कीएपछि उहाँ २०४६ सालमा इलाका कमिटी सदस्य, उपसचिव, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा ७ वर्ष काम गर्नुभयो ।
विसं २०५४ को पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित हुनुभयो । विसं २०५४ पछि चौथो र पाँचौँ जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखका रूपमा काम गर्नुभयो । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं १ बाट पराजित आचार्य विसं २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिनुभयो । विसं २०६९ मा भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित आचार्यले नौ वर्ष पार्टीको जिल्ला प्रमुखको रूपमा काम गर्नुभयो ।
विसं २०७४ का भएको प्रदेशसभा सदस्य निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्यले आन्तरिक मामिला तथा कानुनमन्त्रीको कार्यभार सम्हाल्नुभयो । विसं २०७८ मा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँचीको सहइञ्चार्जको जिम्मेवारीमा रहनुभयो ।
विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका विरुद्ध प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्य एमाले संसदीय दलको उपनेता हुनुभयो । उहाँले यसअघि सहरी विकास तथा खानेपानी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
कानुन विषयमा स्नातक गर्नुभएका आचार्य पार्टीमा आजीवन पूर्णकालीन भई काम गरिरहनुभएको छ । विभिन्न आन्दोलनमा जेल जीवनसमेत ब्यतित गर्नुभएका आचार्यले क्यान्सरलाई जितेर पार्टी काममा क्रियाशील हुनुभयो ।
पार्टी सङ्गठनको काममा निरन्तर क्रियाशील कुशल सङ्गठन आचार्य पार्टी कार्यकर्ताबीच लोकप्रिय र प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ । उहाँको एक दाजु, दुई भाइ, दुई दिदी र एक बहिनी हुनुहुन्छ । आचार्यको जीवनसङ्गिनी दिपा आचार्य अनेमसङ्घ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यका रूपमा क्रियाशील हुनुहुन्छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।