साउन १ काठमाण्डौँ । सत्ता बहिर्गमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरेका छन् । आज समाजवादी मोर्चाको बैठकमा प्रचण्डले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब आफू भ्रममा नपर्ने बताए ।
काँग्रेस एमाले मिलेर परिवर्तनविरुद्ध जालसाजी गर्ने खतरा छ, हामी जनतामा जाउँ ’ प्रचण्डले भने ।
प्रचण्डले संविधान रक्षा र लोकतन्त्रको प्रगतिशील सारतत्व जोगाउने योजना अबको बाटो हुनुपर्ने प्रस्ताव पनि गरे ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डले सत्तामा हुँदा समाजवादी मोर्चालाई चासो नदिएको भन्दै आलोचना गरे । आफ्नो पार्टी मूख्यालयमा आइपुगेका प्रचण्डसहित अरु नेतालाई नेपालले भने, ‘कांग्रेस–एमालेले लोकतन्त्र र सुशासनमाथि समेत चुनौती दिन सक्छन्, सरकारमात्रै बदलिएको होइन, यसको पछाडि धेरै खेलहरु भएका हुन सक्छन् ।’
ओलीको विस्वास नगर्न आफूले प्रचण्डजीलाई पटक पटक भन्दा पनि मान्नु भएन, नेपालले भने ।
विगतमा मोर्चामा सहभागी हुँदै आएको जसपा नेपाल मंगलबार अनुपस्थित रह्यो भने महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी बैठकमा सहभागी थियो । मोहनविक्रम सिंह लगायत अरु घटकलाई पनि मोर्चामा जोड्ने निर्णय भएको नेपालले बताए ।
यो गठबन्धन पश्चगामी भएको भन्दै मोर्चाले संविधान शंसोधनको समझदारी अपारदर्शी भएको भन्दै खबरदारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।