राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान

  • शुक्रबार, असार २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानूनविद्‌हरुसँग छलफल गरेका थिए ।

संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्‌हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यसअघि दाहाल ०७९ पुस १० गते यही उपधाराको व्यवस्थाबमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए ।

उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्न आवश्यक कागजातमा नेताहरुले हस्ताक्षर संकलन गर्न सुरु गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बानेश्वरमा एमाले अध्यक्ष ओलीको कार्यकक्षमा दलहरुबीच छलफल भएको थियो । त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ