असार २३ काठमाण्डौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टीस्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन्।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन कांग्रेस एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन्।
अध्यक्ष केसीले भने, ‘यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भूटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न। त्यसकारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाई दिएपनि नेपाली जनताले भोगी राखेका छन, देखिराखेका छन्। त्यसकारणले को चोखो छ ?
उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरे। संसदको ठूलो दल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाई थियो।
केसीले भने, ‘आफ्नो भ्रष्टाचारालाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन। मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईहरु संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्दैनथ्योरु किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो। त्यो पनि सबभन्दा ठूलाले होइन, माइलो पार्टीले गर्दैछ। यसमा पनि दालमा काला हए।’