असार २ काठमाण्डौँ । विहान ८ बजेदेखि सिंहदरबार स्थित संसदको राज्य व्यवस्था समितिको बैठक थियो । बैठकमा सांसदहरु पुग्दा टेबलमा न्याप्किन र महंगा चम्चा काटाँ थिए । तारा गाँउ विकास समितिले व्यवस्थापन गरेको संसद सचिवालयको क्यान्टिनमै त्यो खाजा तयार भएर त्याहाँ आएको थियो ।
त्यो खाजा गृहमन्त्री रवि लामिछाने सहित आधा जसो सांसदहरुले खाए पनि ।
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ।’
तर बैठक शुरु हुनै लाग्दा काँग्रेस सांसद हृदयराम थानीले सभापति रामहरी खतिवडालाई प्रश्न गरे , “निजामती ऐन पारित गर्ने कि मिठो मिठो खाजा खुवाएर हामीलाई भुल्याउने हो सभापति ज्यू ? ”
कांग्रेसका सांसदहरू हृदयराम थानी, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रास्वपा सांसद चन्दा कार्की लगायतले समितिमा ल्याइएको खाजाको बारेमा प्रश्न उठाएको बुझिएको छ ।
मुख्य एजेण्डामा छलफल गरौँ खाजा हाम्रै क्यान्टिनमा बनेको रहेछ ठीकै छ भनेका गृहमन्त्री लगातार हंगामा जस्तो भएपछि बैठक छाडेर हिँडे ।
मिर्मिरेसँग कुरा गर्दै सांसद ईश्वरी न्यौपानेले महंगो खाजा भन्दा पनि निजामति बिधेयक जस्तो महत्वपूर्ण बिधेयकबारे छलफल गर्दा एनजिओको प्रतिनिधि आएकाले बिरोध भएको प्रतिकृया दिईन् । बैठकमा एनजिओका दुई प्रतिनिधि छिरेका थिए ।
तर उनीहरुलाई निमन्त्रणा भने नगरिएको सभापति रामहरी खतिवडाले बताए ।
एमाले सांसद रघुजी पन्तले थपे, “नेपाल सरकारले उपलव्ध गराएको पैसाले हामी खाजा खाइरहेका छौं । यहाँ एनजीओको उपस्थिति किन चाहियो रु आज खाजा स्पोन्सर गर्नुहोला भोलि २, ५ हजार खल्तीमा हाल्दिनुहोला । अनि उहाँहरूबाट प्रभावित भएर हामीले कानुन बनाउने ? ”
यसरी धमाधम बिरोध हुन थालेपछि खाजा खाएर छलफल गरौँ भन्दै गरेका गृहमन्त्री नै हिँडेपछि अरु सांसदले आपत्ति जनाए ।
समितिका सचिव सुरज दुराले बैठक समितिको आफ्नै भए पनि संस्थाको तर्फबाट लजिष्टिक सहयोग मात्रै गरेको बताए । एलएक्सपिटीडी भन्ने संस्था जनसङ्ख्या र विकाससम्बन्धी काम गर्ने संस्था रहेको उल्लेख गरे ।
यो विधेयकमाथि छलफल अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले आग्रह गरे बमोजिम समितिको बैठक बोलाईएको थियो । समितिलाई मन्त्रालयले खाना खाजाको व्यवस्थापन हामी गछौँ भनेर भनेको सचिव दुराको दाबी छ ।
तर पछि सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता काली प्रसाद पराजुलीलाई सम्पर्क गर्दा उनले मन्त्रालयले त्यसो नभनेको दाबी गरे ।
आज ३५ जनाका लागि समितिले खाजा र खाना अर्डर गरेको चमेनागृहका व्यवस्थापनले जानकारी दिएको छ । केहीले खाजा खाए पनि अर्डर आएको खाना खाएका छैनन् ।
आजको छलफलमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली लगायतलाई विज्ञको रुपमा बोलाईएको थियो । उनले म एनजिओको प्रतिनिधि नभई राज्य व्यवस्था समितिकै निमन्त्रणामा आएको भन्दै हिँडेका थिए ।