काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले बर्तमान सत्ता गठबन्धन भित्र उचित सम्मान पाउन नसकेको बताएका छन्।
केही दिन अघि बिपक्षी दलहरुको बैठकमा सहभागी भएर तरंग पैदा गरेका अध्यक्ष नेपालले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
केन्द्रको सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीले अब के गर्छ भन्ने धेरैको चासो रहेको उनले बताए ।
राष्ट्रिय राजनीतिमा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं। अहिले पनि हाम्रो आवश्यकता सबैले महसुस गरिरहेका छन्। अब के होला भन्ने आम चासो छ। तर, हामी केन्द्रीय सरकारमा सहभागी छौं। मधेस प्रदेशमा भने प्रतिपक्षीसँग छौं। तर, हामी रोजेर प्रतिपक्षीमा गएका होइनौं। जनता समाजवादीसँग सहकार्य हुँदै आएको छ। उपराष्ट्रपति बनाउनेदेखि उपनिर्वाचनमा उपेन्द्रजीलाई जिताउनेसम्म हाम्रो सहकार्य भएको छ। त्यो सहकार्य निरन्तरताको आवश्यकता विद्यमान छ, उनले भने।
कतिपय कुराका लागि अहिले पनि संबाद चलिरहेको उनले खुलाए । कतिपय कुरा पाउन अझै बाँकी छ। त्यस विषयमा अझै छलफल जारी छ। त्यसका लागि प्रधानमन्त्री र एमाले अध्यक्षसँग निरन्तर संबाद भइरहेको छ। आज पनि हामीबीच छलफल भएको छ। तर, कुरा टुंगिसकेको छैन, उनले भने।