सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन प्रधानमन्त्री र दलका शीर्ष नेता सहित कार्यदलको बैठक जारी छ । संसदको गतिरोध अन्त्य गरी भोली बजेट पेश गर्न प्रधानमन्त्री प्रचण्डको पहलमा बालुवाटारमा बैठक बसिरहेको छ ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश बारे सहमति जुटाउन प्रमुख दलका नेता सम्मिलित कार्यदलको बैठक बालुवाटारमा बसेको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार सहभागी छन्।
त्यसैगरी एमालेबाट कानुनमन्त्री पदम गिरि र महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेता स्वर्णीम् वाग्ले र सन्तोष परियार लगायतका नेता सहभागी छन्।
संसदको प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरण छानबिन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने र त्यसमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ।
भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि नै प्रधामन्त्री प्रचण्डले विपक्षी दलसँग सहमति गरेर अघि बढ्ने प्रयास गरेका छन् ।