चैत्र १९ काठमाण्डौँ । श्रीमान् रेशम चौधरी र श्रीमती रञ्जिता श्रेष्ठबीच नयाँ गठबन्धन बनेसँगै बढेको विवादले उग्र रुप लिएको छ । पार्टीकी अध्यक्ष रञ्जिता वर्तमान वाम गठबन्धनको पक्षमा छिन् भने पति रेशम काँग्रेससँगको गठबन्धनका पक्षमा ।
दुबै पक्षबीच विवाद बढ्दै जाँदा पछिल्लो समय सुदुर पश्चिम प्रदेश सरकारको बिषयलाई लिएर उग्र बनिरहेका बेला आज रेशम पक्षका नेताहरुले रञ्जिता पक्षका नेताहरुमाथि बैठकमै आक्रमण गरेका छन् ।
रञ्जिता पक्ष संघीय सरकारमा सहभागी हुँदै सुदूरपश्चिमको मुख्यमन्त्री लिने गरी नयाँ गठबन्धनमा मिसिने पक्षमा उभिएको छ। उता रेशमलाल भने संघमा प्रतिपक्षमा बस्दै सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारालई निरन्तरता दिनुपर्ने अडानमा छ।
यस्तोमा अनामनगरमा बसेको बैठकका क्रममा रञ्जिता पक्षका दुई नेता कुटिएका हुन्। कुटपिट भएपछि रञ्जिता पक्षले बैठकस्थल नै छाडेर हिँडेको छ।
बैठकस्थलमै कुटपिटको अवस्था आएपछि अहिले रञ्जिता पक्षका ५ जना नेताहरू त्यहाँबाट बाहिरिएका छन्।
अहिले रञ्जिता पक्षले कुटपिटको बिषयलाई लिएर आन्तरीक छलफल गरिरहेको छ । यो विवादले उग्र रुप लिँदै अन्ततः पार्टी विभाजनको खतरामा पुगेको नेताहरुको आशंका छ ।