रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा मारिएका नेपालीको प्रति परिवारलाई रुसले ७० लाख बढी नेपाली रुपैया आर्र्थिक सहयोग गर्ने तयारी गरेको छ । हालै नेपाली अधिकारीहरुसँग गरेको छलफलमा रुसले मृतक सैनिक परिवारलाई मस्कोमा बोलाएर सहयोग प्रदान गर्ने प्रस्ताव गरेको थियो ।
तर नेपालले त्यो संभव नभएको भन्दै काठमाण्डौँ स्थित रुसी दुतावासबाट सो सहयोग प्रदान गर्न आग्रह गरेको थियो ।
त्यसै गरी घाईते तथा युक्रेनमा बन्धक बनेकाहरुको परिवारलाई पनि आर्थिक सहायता दिने रुसले जनाउ दिएको छ । हाल सम्म रुसी सेनामा कार्यरत १३ नेपालीको मृत्यु भएको छ भने ५ जना युक्रेनी सेनाको नियन्त्रणमा छन् ।
नेपालले नेपाली नागरिकलाई सेनामा भर्ती नगरिदिन रुससँग अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हाल सम्म ११३ परिवारले रुसी सेनामा आफ्ना सदस्य सामेल भएको र फिर्ता गराउन मन्त्रालयमा सम्पर्क गरेका छन् । रुसी सेनामा कति नेपाली नागरिक छन् भन्ने एकीन भएको छैन ।
उता रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले जारी गरेको एक कानुन अनुसार रुसका लागि लड्ने सबै विदेशी नागरिकलाई रुसले नागरिकता प्रदान गर्नेछ । त्याहाँ लडिरहेका नेपालीहरुले ईच्छा व्यक्त गरेमा उनीहरु रुसी नागरिकता प्राप्त गर्न सक्नेछन् ।