चैनपुरको ऐतिहासिक स्वस्थानी पुस्तकः ऐतिहासिक महत्त्वको दस्ताबेज

चैनपुरको ऐतिहासिक स्वस्थानी पुस्तकः ऐतिहासिक महत्त्वको दस्ताबेज

  • शनिबार, पुस २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, २८ पुस ।
एक सय पैंसाठी वर्षअघि विसं १९१५ सालमा संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणले अध्ययन गर्न मिल्ने गरि प्रकाशित गरिएको छ । निराकार श्रेष्ठको संयोजनमा स्वस्थानी प्रकाशन समूहले उक्त हस्तलिखित ऐतिहासिक ग्रन्थलाई सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यले पुस्ताकार रूपमा प्रकाशन गरेको हो ।

चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिवार काठमाडौंमा विमोचन गरियो । श्रेष्ठ परिवार २७५ वर्षअघि ललितपुरको कुम्भेश्वरबाट सङ्खुवासभाको चैनपुर पुगेको थियो । चन्द्रलालले सङ्खुवासभाको चैनपुरमा रहँदा यो पुस्तक लेख्नुभएको थियो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको रहेको छ ।

यस ग्रन्थले धार्मिक व्रतकथाका अलावा ऐतिहासिक एवम् सम्भ्रान्त ललितपुर सहर र चैनपुरलाई सांस्कृतिक रूपमा जोड्ने सेतुको काम गरेको छ। मुमिकशले वैभवशाली र सम्भ्रान्त ललितपुरको नेवारी सभ्यता, संस्कृति र गौरवमय धार्मिक परम्परालाई चैनपुरमा समेत विस्तार गर्नमा महत्त्वपूर्ण योगदान दिएका थिए।
विमोचन कार्यक्रममा चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित स्वस्थानी प्रकाशन समूहका संयोजक निराकार श्रेष्ठले त्यसबेला नेवार समुदायको आवश्यकतालाई मनन गरी आफ्नै परिवेशमा स्वस्थानी व्रतकथाको रचना गर्नु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ग्रन्थलाई चैनपुरमा संरक्षण गर्दै आएका थियौँ । घर घरमा पाठ गर्ने यो धार्मिक ग्रन्थलाई सबैको पहुँचमा पु¥याउन छापेका हौँ ।”

बजारमा पाइने स्वस्थानी व्रतकथाका पुस्तकमा ३१ अध्याय भए पनि उक्त चैनपुरको ऐतिहासिक स्वस्थानी व्रतकथामा २२ अध्याय मात्र छन् । नेपाली भाषामा लेखिएको यो व्रतकथामा बजारमा पाइने पुस्तकमा रहेका अध्यायभन्दा साना छन् । गोमा ब्राह्मणीले पुत्र नवराजलाई परदेश नजान सम्झाउँदै गरेको दृश्यलाई व्रतकथामा यसरी उल्लेख गरिएको छ, “तँ गयापछि तेरी स्त्री चन्द्रावती पनि बस्न्या छैन । माइत जान्या छ । एस अर्थले जान्छु नभन ।” भाषा अध्ययन गर्नेका लागि पनि यो पुस्तक स्रोत सामग्री बन्न सक्छ ।

नेपालमा हस्तलिखित ग्रन्थ लेखनको कार्य ईश्वीको नवौं शताब्दीदेखि सुरुवात भएको मानिन्छ। विसं १९१५ मा श्रेष्ठद्वारा हस्तलिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ धार्मिकरसांस्कृतिक महत्त्वको मात्र नभएर ऐतिहासिक महत्त्वको दस्ताबेजका रूपमा आएको मौलिक ग्रन्थ हो।

स्वस्थानी व्रतकथाको सबैभन्दा पुरानो पुस्तक विसं १६२९ को फेला परेको छ । यो संस्कृत भाषामा लेखिएको छ । यो व्रतकथाका पुस्तक उपत्यकाबाहेक पाल्पा, गोर्खालगायत जिल्लामा पनि लेखिएका थिए । नेपाल (नेवारी), मैथली, हिन्दी भाषामा पनि लेखिएको फेला परेको छ । राष्ट्रिय अभिलेखालयमा हस्तलिखित स्वस्थानी कथा डिजिटाइजेसन गरिएको छ ।

चैनपुरको ऐतिहासिक स्वस्थानी सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरानो स्वस्थानी व्रतकथाको पुस्तकले धर्म संस्कृतिका क्षेत्रमा नयाँ आयाम थपेको बताउँदै गुनासो गर्नुभयो, “सार्वजनिक खरिद ऐन सम्पदा संरक्षणका लागि बाधक बनेको छ । यसमा परिवर्तन गर्न नसकिए सम्पदा संरक्षण गर्न निकै मुस्किल हुँदै जाने छ ।”

पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सबैभन्दा पहिले नेवारीमा, त्यसपछि संस्कृतमा स्वस्थानी व्रतकथाको पुस्तक लेखिएको बताउँदै थप्नुभयो, “साल नै उल्लेख भएकाले चैनपुरको स्वस्थानी व्रतकथाको पुस्तक अझ आधिकारिक छ ।” प्रकाशन समूहका संयोजक श्रेष्ठले हस्तलिखित ग्रन्थ सुरक्षा र सबैको पहुँचका लागि राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिने बताउनुभयो ।

स्वस्थानीको पुस्तकमा पुष्पिका वाक्यका रूपमा लेखकले आफ्नो नाम, तिथिमिति, वंशको परिचय एवम् चैनपुरका स्थानीय देवस्थलहरूको समेत नाम उल्लेख गरेका छन्। जसले इतिहास जान्न चाहनेलाई समेत गुन लगाएको छ। बोलीचालीको नेपाली भाषामा लिप्यन्तरण गरिएको यो पुस्तकमा मूल पाठसमेत समावेश छ। जसले संस्कृतिप्रेमी र अनुसन्धातालगायत सबैलाई सहज हुने प्रकाशकको दाबी छ।

यस स्वस्थानीको हस्तलिखित मूलपाठको अन्वेषण, सम्पादन एवम् परिचयात्मक लेखन गरेका इतिहासकार ढुंगेलले यस पुस्तकमा खस भाषाको प्रभाव देखिने भएकले पौराणिक, भौगोलिक एवम् वंशविशेषको महत्त्वलाई समेत उजागर गरेको बताउनुभयो ।

पुष्पिका वाक्यसहित लेखिएको हस्तलिखित स्वस्थानी व्रतकथा भएकाले यो ऐतिहासिक महत्त्वको दस्ताबेज भएको उहाँको भनाई छ ।
त्यसैगरी मूलप्रतिबाट सर्वसाधारणले बुझ्ने गरी आधुनिक नेपाली भाषामा लिप्यन्तरण गर्ने कार्य भने पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले गरेका हुन्। यस स्वस्थानी प्रकाशन समूहका सदस्यहरुमा श्रवणकुमार श्रेष्ठ, दिलिप श्रेष्ठ, सुभाष श्रेष्ठ र विनोदकुमार श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी