२७ वर्षीय सुजनले छेडे जिव्रो !

२७ वर्षीय सुजनले छेडे जिव्रो !

  • आइतवार, बैशाख ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो।

हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो।

बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भए।

दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो। बीचमा थिए, जिब्रो छेड्न तयार भएका २७ वर्षीय सुजन श्रेष्ठ। उनी सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे।

सुजनको आगमनसँगै बोडेका बासिन्दाले जयजयकार गरे। पाँचौं गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा सुजन उक्लिएपछि लगातर यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए।

सुजनका ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरी अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो फलामको सुइरोले हजारौँ मानिसकै अगाडि वागश्रेष्ठ९सुजन०को जिब्रो छेडिदिए।

त्यसपछि उनले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे। त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाइदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले पहिलो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरिरहे।

महाद्वीप बोकेर सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे। त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्‍याइयो। त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिरस बाहिर राखेर सुजनभित्र प्रवेश गरेपछि जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो। त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौँको भीड विस्तारै तितरवितर लाग्यो।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए। प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको जुजुभाइ बताउँछन्।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौँ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा तयार भए र यसवर्ष पनि जात्राले निरन्तरता पायो।

बुद्धकृष्ण भन्छन्, ‘यो वर्ष सुजनले जिब्रो छेडायो, अर्को वर्ष पनि जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न यहाँका युवा पुस्ता तयार हुनुपर्छ, यहाँको जात्रा यहीँको युवाले अब जोगाउने हो।’

मध्यपुरथिमिका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जात्रालाई सहज बनाउन आफ्नो पालामा जग्गा खरिद गरेर नयाँ पाटी बनाएर ठाउँ फराकिलो बनाएको बताए।

जात्रालाई व्यवस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए। उनले मध्यपुरथिमिका जात्रा पर्वका लागि यसअघि गरिएको व्यवस्थालाई निरन्तरता दिएको बताए।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसवर्ष जात्रा हेर्नका लागि नेपाली कांग्रेसका सांसद दुर्लभ थापालगायतका विभिन्न नेताहरु तथा माओवादी केन्द्रका नेता आएको बताए।

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुंघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए। कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ।

एकरात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए। जुन अहिलेसम्म पनि कायमै छ। तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण।

उनी भन्छन्, ‘यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिशाच कोही नभई नील बाराहीका देव गण हुन्।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी