दोस्रो पटक गृृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठको राजनीतिक यात्रा

दोस्रो पटक गृृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठको राजनीतिक यात्रा

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गर्दै श्रेष्ठलाई गृहको जिम्मेवारी दिएका हुन् ।

चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री दाहालले आफैंसँग राख्दै आएका थिए ।

श्रेष्ठ यसअघि पनि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् । २०४० को दशकदेखि नेपाली राजनीतिमा सक्रिय रहेका श्रेष्ठ तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी र आन्दोलनरत ७ राजनीतिक दलबीच १२ बुँदे सहमति गराउने सूत्रधारसमेत हुन् । तत्कालीन नेकपा एकता केन्द्रका महासचिवसमेत रहेका श्रेष्ठले माओवादीसँगको एकीकरणपछि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

लामो समय भूमिगत र अर्धभूमिगत राजनीति गरेका श्रेष्ठले पहिलोपटक २०६४ मा संसद् प्रवेशको मौका पाएका थिए । त्यसबेला उनी संविधानसभामा मनोनीत सदस्यका हैसियतमा प्रवेश गरेका थिए । संविधानसभामा रहँदा उनी दुईपटक मन्त्री भएका थिए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संक्षिप्त जीवनी:

नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ १८ वर्षको भूमिगत जीवनपछि ०६५ मा सार्वजनिक हुनुभएको थियो।

२०१७ सालमा(एसएलसीको परीक्षा दिने बेलामा उमेर नपुगेकाले प्रमाणपत्रमा जन्म २०१६ साल बनाइएको।) गोरखाको जौबारीमा, पिता मेघनारायण श्रेष्ठ र आमा ज्योतिमाया श्रेष्ठबाट जन्मिनुभएका नारायणकाजी श्रेष्ठको चार पुस्ता अगाडिको पुर्खा उपत्यकाको पाटनबाट जौबारी पुगेको थियो। श्रेष्ठको बुवा-आमाको निधन भैसकेको छ भने पाँच दाजुभाइमध्ये उहाँ ठुलोकान्छो हुनुहुन्छ।

श्रेष्ठले एकदेखि १० कक्षासम्म गाँउकै विद्यालयमा पढ्नुभएको थियो। उहाँले जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गर्नुभएको छ। अर्थशास्त्रमा स्नातक गर्नुभएको छ। मेडिकल साइन्सको प्राम्भिक अध्ययन गर्नुभएका श्रेष्ठसँग छोटो समय हेल्थपोस्टमा र सिद्दार्थ वनस्थली विद्यालयमा शिक्षण गरेको अनुभव समेत छ। एक समय उहाँ पत्रकारितामा समेत हुनुहुन्थ्यो। राजनीतिक जीवन क्रममा मुल्यांकन, गर्जन जस्ता पत्रिकाको संपादनको जिम्मेवारी उहाँले वहन गर्नुभयो।

तर औपचारिकभन्दा अनौपचारिक अध्ययनलाई बढी जोड दिनुहुने श्रेष्ठले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे गहिरो अध्ययन गर्नुभएको छ। उहाँलाई सबैभन्दा मनपर्ने पुस्तक लेनिन लिखित ‘राज्य र क्रान्ति’ हो।

१५ वर्षमा एसएलसी गर्नुभएका श्रेष्ठ कलिलो उमेरमा नै जेल पर्नुभएको थियो। ०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । त्यहाँबाट छुटेपनि दोस्रो पटक ०३६ सालमै उही आरोपमा गोर्खा जेलमा राखियो। तेस्रो पटक ०४५ सालमा जनआन्दोलनको तयारीको बेला उहाँलाई राजकाज मुद्दा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो।

भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र ‘प्रकाश’ नामबाट उहाँले राजनीतिक गतिविधि गर्नुभएको थियो। उहाँले-
१ क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति भाग—१
२. माघ १९ र क्रान्तिकारी कार्यनीति
३. माओवादी र माओवादी जनयुद्घबारे ।
४. क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति -भाग २ लगायतका पुस्तकहरू लेख्नुभएको छ।

सानै छँदा नै विद्रोही श्रेष्ठ प्रारम्भिक राजनीतिक जीवनमा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। तर नेपाली काँग्रेसले सामन्तवादसँग सम्झौतापरस्त नीति लिएको महसुस भएपछि कम्युनिष्ट आन्दोलनमा हेलिनुभयो।

उहाँ नेकपा चौथो महाधिवेशन (चौम)मा संगठीत हुनुभयो। उहाँलाई गोर्खाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीले ०३८ सालमा पार्टी सदस्यता दिनुुभएको हो। उहाँ पार्टीको सेल कमिटीमा हुँदैगर्दा मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टीमा विभाजन भइ मोहनविक्रम समूह अलग भयो। उहाँ चौमको काठमाडौं जिल्ला समिति सदस्य हुँदै ०४२/४३ सालतिर केन्द्रीय सदस्य हुनुभयो।

२०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य हुनुभयो। एकता भएपछि ०४७ सालमा एकता महाधिबेशनबाट उहाँ नेकपा(एकताकेन्द्र)को पोलिटब्युरो सदस्य हुनुभयो। ०५१ सालमा पार्टी विभाजित हुँदा उहाँले एकताकेन्द्रको सचिवको जिम्मेवारी लिनुभयो। लगत्तै महासचिव हुनुभयो। नेकपा(मसाल)सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्र-मसाल)को महामन्त्री र उहाँ सहमहामन्त्री हुनुभयो। ०६३ सालमा सो पार्टीमा विभाजन भएपछि उहाँ एकताकेन्द्र-मसालको महामन्त्री हैसियतमै रहनुभयो।

तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध र राजाको सक्रिय निरंकुशताविरुद्ध आन्दोलनरत पार्टीहरूलाई संयुक्त जनआन्दोलनका लागि एकैठाउँमा ल्याएर संविधानसभामार्फत देशको संघीय गणतान्त्रिक परिवर्तन गर्नमा श्रेष्ठको संयोजनकारी भूमिका छ। भारतको सिलगुडीमा वाम पार्टीहरूको संयुक्त बैठक गराउन र ०६२/६३ को ऐतिहासिक जनआन्दोलनका लागि तत्कालीन सात राजनीतिक दलहरू र तत्कालीन नेकपा (माओवादी)बीच वार्ता एवं १२ बुँदे सहमति गराउन उहाँले कुशल र संयोजनकारी भूमिका खेल्नुभएको थियो। राजा ज्ञानेन्द्रको सत्ताले उहाँलाई समेत माओवादीका वरिष्ठ नेताहरूलाई झैं भेट्यो कि मारिहाल्ने सूचीमा राखेको थियो।

ऐतिहासिक जनआन्दोलनको सफलतासँगै नेकपा एकता केन्द्र-मसाल र नेकपा माओवादीको एकता सम्पन्न भइ एकीकृत नेकपा माओवादी बनेपछि उहाँ त्यस पार्टीको उपाध्यक्ष बन्नुभयो। पहिलो संविधानसभा सदस्य उहाँ २०६८ साउन १६ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभयो।तर उक्त कार्यकाल जम्मा २८ दिनको थियो।त्यसपछि २०६८ भदौ १८ मा तत्कालीन एकीकृत माओवादीका अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नुभयो।

कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको क्रममै नेकपा माओवादी केन्द्र बनेपछि उहाँ पार्टीको दोश्रो वरियताको स्थानमा उपाध्यक्ष हुनुभयो। २०७५ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेकपा बन्दा श्रेष्ठ नौ जनामध्येको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्थ्यो। तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई अलग गराइदिएपछि उहाँ पूर्ववत् माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नै हुनुभयो।

राष्ट्रियसभा सदस्य श्रेष्ठ २०७९ पुस ११ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवम भौतिक पुर्बाधार तथा यातायातमन्त्री हुनुभयो। श्रेष्ठलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबाट बिभाग परिवर्तन गरी २०७९ चैत्र १७ गते उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी