३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर प्रधानमन्त्रीले घटनाको गहिरो अनुसन्धान गर्न र अन्यायमा परेकाले न्याय पाउने गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।
के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी को को छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्’ दोषीलाई कार्बाही गरेर पीडितलाई छिटो न्याय दिलाउन उनको निर्देशन छ ।
सोमबार दिउँसोदेखि यातायात मजदुरले गोंगबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोवाइल पसलमा लुटपाट भएको थियो ।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर अनुमान गर्न नसकेको स्वीकार गरेका थिए ।
सुरक्षा अधिकारीहरुले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको समेत जानकारी गराएएका थिए ।
छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, मुख्यसचिव शंकरदास बैरागी, गृह सचिव विनोद प्रकाश सिंह, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायत सुरक्षा अंगका प्रमुखहरू सहभागी थिए ।