काठमाडौँ माघ १६ । सरकारले राष्ट्रिय योजना आयोगका तीन नयाँ सदस्य नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।
ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ थिए भने शाक्य पूर्व राजदूत हुन् । उनीहरू एमालेको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् ।
योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए ।
यसै गरी बैठकले परराष्ट्रमन्त्री विमला पौडेलको श्रीलंका भ्रमण स्वीकृत गरेको छ । उनी पहिलो विदेश भ्रमणको रुपमा श्रीलका जान लागेकी हुन् ।