माघ १३ काठमाण्डौँ । गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभई संसदको चुनावमा भाग लिएको र मन्त्री समेत भएको भन्दै कानुन व्यवशायीले उनलाई फौजदारी कसुरमा कार्बाही गर्न माग गरेका छन् ।
लामिछाने बिरुद्ध निवेदनका तर्पबाट बहसमा भाग लिएका पाँच कानुन व्यवशायीले बहस नोट बुझाउदै उनको नेपाली नागरिकता स्वतः प्राप्त हुने कानुनी व्यवस्था नरहेको, विदेशी नागरिकता नत्यागी नेपाली पासपोर्ट बनाएको जस्ता विषय उठाँउदै उनलाई फौजदारी कसुरमा मुद्धा चलाउनु पर्ने सुझाव दिएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमेत रहेको संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्।
आज निवेदकले जवाफी बहस गरेसँगै मुद्दा फैसलाको चरणमा जानेछ। रिट निवेदकका ५ वकिलले २३ पृष्ठको सामूहिक बहसनोट पनि इजलासमा बुझाएका छन्। बहसनोटमा रवि नेपाली भए पनि नेपाली नागरिक नभएको जिकिर गरिएको छ। गैरनागरिकले नागरिकलाई शासन गर्न नमिल्ने वकिलहरुको जोड छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, विष्णु लुइँटेल, अधिवक्ताहरु रमन कर्ण, अमृत खरेल र निकिता ढुंगानाले सामूहिक रुपमा बहसनोट बुझाएका हुन्।
उनीहरुले रवि नेपाली मूलका विदेशी भएको बताएका छन्। यस्तै रविले फौजदारी कसुर गरेको भन्दै उनीमाथि तत्काल निष्पक्ष छानबिनको समेत माग गरेका छन्।
उनीहरुले उठाएको मुख्य प्रश्न छ, ‘रवि लामिछाने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिँदाका बखत र निर्वाचित भई प्रतिनिधि सभा सदस्य बनेको अवस्थामा नेपाली नागरिक हुन् कि होइनन् र नेपाली नागरिक नभई प्रतिनिधि सभा सदस्य हुन र मन्त्री हुन संविधान र कानुनले योग्य मान्छ कि मान्दैन ?’
एक पटक कायम नरहेको नागरिकता कायम गराउन उनले कानुनले तोके बमोजिमको प्रक्रिया पूरा नगरेको भन्दै इजलासमा प्रश्न उठाइएको छ।
रवि लामिछाने आफैँले पुनः नेपाली नागरिकता प्राप्तिको प्रक्रियामा प्रवेश नगरेको स्वीकार गरेको अवस्थामा उनको सांसद पद कायम रहन नसक्ने जिकिर निवेदकको छ।
अर्कोतर्फ उनले नेपाली नागरिकता त्याग नगरेको हुँदा नेपाली नागरिकता पुनः प्राप्त गर्नु नपर्ने तर्क गरेका छन्। उनका यी दुई तर्क आपसमा बाझिएका छन्।
कानुनमा विदेशी नागरिकता त्याग गरेको अवस्थामा पुरानो नेपाली नागरिकता स्वतः कायम हुने भन्ने कानुनी आधार नभएकाले रविको नागरिकता कायम हुने अवस्था नरहेको निवेदक पक्षका वकिलको तर्क छ।
‘नेपालको नागरिकता पुनः प्राप्त नगरेको हुँदा र सो कुरा निज स्वयंले स्वीकार गरेको हुँदा, निज मतदान गर्न, प्रतिनिधि सभा सदस्यकालागि उम्मेदवार हुन र प्रतिनिधि सभा सदस्य हुन अयोग्य भएको ठहर गरी रिट निवेदन जारी गरी पाउँ,’ बहस नोटमा भनिएको छ।
यस्तै अमेरिकी नागरिक भएकै अवस्थामा नेपाली पासपोर्ट बनाएको, पारिवारिक भिसामा बसेको व्यक्तिले श्रम स्वीकृति नलिई नेपालमा काम गरेको उल्लेख छ।
नेपाली नागरिक नभई नेपाली नागरिक हुँ भनी मिडिया लगायतका क्षेत्रमा लगानी गरेको, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा १४ विपरीत निर्वाचन अपराधमा संलग्न भएको र निर्वाचन आयोग लगायतका विभिन्न सरकारी निकायलाई ढाँट्ने, छल्ने र गुमराहमा राखी विभिन्न फौजदारी कसुर गरेको आरोप पनि रविमाथि लगाइएको छ।
उक्त विषयमा छानबिन गर्नु भनी सम्बन्धित निकायका नाममा निर्देशनात्मक आदेश समेत जारी गर्न माग गरिएको छ।
रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५० फागुन १० गते नेपाली नागरिकता लिएका थिए। उनले सन् २०१४ फेबु्रवरी २१ मा अमेरिकाको नागरिकता प्राप्त गरे। उनले अमेरिकी नागरिकता प्राप्त गरे पनि नेपाली नागरिकता त्यागेनन्। नेपालमा दोहोरो नागरिकता लिन पाइने व्यवस्था छैन। तर रविसँग त्यतिबेला दुवै देशका नागरिकता थिए।
अमेरिकाको नागरिकता प्राप्त गरेपछि उनको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ।
आज बहस सकिएपछि फैसलाको चरणमा जाने छ आज फैसला आएन भने पनि अर्को मिति तोकेर फैसला सुनाउने संभावना रहेको छ ।