पुष १९ काठमाण्डौँ । लगातार पार्टीको आन्तरीक बैठक बसे पनि अझै पनि सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्न जसपा र नेकपा एस असमर्थ रहेको छ । पछिल्लो साता देखि ती पार्टीहरुको आन्तरीक बैठक जारी छ । आज पनि जसपाको राजनीतिक समिति र नेकपा एसको पोलिटब्युरो बैठक बस्दैछ ।
दुबै पार्टीले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका छन् । तर २६ गते विस्वासको मत दिएर सरकारमा जान जसपाले नागरिकता विधेयक तत्कालै अघि बढाउनु पर्ने शर्त राखेको बुझिएको छ ।
उता एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुन औपचारीक प्रस्ताव नै नआएको जिकिर गरेको छ । तर प्रचण्ड प्रति सद्भाव भने व्यक्त गरेको छ ।
वामपन्थी एकतामा जोड दिएको एकीकृत समाजवादी भित्र सरकारमा जानु पर्ने र जान नहुने भन्ने मत बाझिएको छ । धेरै जसो नेता सांसदले सरकारमा सहभागी हुनु पर्ने सुझाव दिए पनि पोलिटब्युरो बैठकले अझै निर्णय गर्न सकेको छैन ।
२६ गते विस्वासको मत लिएर सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन अनुरोध गरिरहेको बताईएको छ ।