पुष १३ काठमाण्डौँ । ७७ साल देखि प्रचण्ड र माधव नेपालको सामिप्यता बाक्लो थियो । उनीहरु आफ्नै पार्टी अध्यक्ष केपी ओली बिरुद्ध मोर्चाबन्दीमा लागेका थिए । उनीहरुको बोली भाषा र आन्दोलनमा सहयात्रा जमेको थियो ।
ओलीले संसद विघटन गरेपछि सडकमा सँग सँगै देखा परेका उनीहरुले अदालतले संसद पुनर्वहाली गर्दा चितवनमा सँगै लड्डु एक अर्कालाई खुवाएका थिए ।
सर्वोच्चले एमाले र माओवादीलाई अलग गरिदिए पछि माधव नेपालले प्रचण्डकै आडभरोसामा विद्रोह गरे । उनले बनाएको एकीकृत समाजवादीले स्थानीयमा पनि केही स्थान जित्यो र सघमा प्रत्यक्षमा १० सिट हात पार्यो ।
काँग्रेस सहितको गठबन्धन बनाउन प्रचण्ड र माधव नेपालको उत्तिकै भूमिका छ ।
तर अन्ततः यो निर्वाचन पछि पुष १० को माहौल एकाएक परिवर्तन हुँदा गठबन्धनका नायक मध्यका एक माधव नेपाल छुटे ।
पहिलो प्रधानमन्त्री प्रचण्डलाई बनाएर गठबन्धन कायम राख्ने कुरामा माधव नेपाल दृढ थिए । तर पहिले सहमति गरेर अन्तिममा प्रधानमन्त्री र राष्ट्रपति दुबै दिन नसक्ने देउवाको जिद्धिले काँग्रेस त सत्ता बिहीन भयो नै माधव नेपाल समेत अप्ठ्यारोमा परेका छन् ।
माधव नेपाललाई प्रचण्डले बालकोटमा ओलीसँग वार्तामा नलगेकामा उनी दुखी छन् । प्रचण्डको स्वभाव पनि त्यस्तै त्यस्तै भन्दै अलि दुखी भएको कुरा उनले सार्वजनिक रुपमै बताईसकेका छन् ।
तर माधव नेपाललाई प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन र समर्थन गर्न दबाब बढिरहेको छ ।
यो स्थितिमा माधव नेपालले आगामी पुष २५ अघि सम्ममा सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णय गरिसक्नु पर्नेछ ।
पुष २५ मा प्रधानमन्त्रीले विस्वासको मत लिने भएकाले त्यस अघि नै निर्णय गरिसक्नु पर्ने बाध्यता माधव नेपाललाई रहेको छ । प्रचण्ड सात दल र तीन स्वतन्त्र सहित १६९ जना सांसदको समर्थन लिएर प्रधानमन्त्री बनेका छन् । माधव नेपालको दश सांसद थपिए त्यो १८९ जनाको समर्थन हुनेछ ।