पुष ९ काठमाण्डौँ । २०७७ साल पुष ५ गते सुविधाजनक बहुमतको कम्युनिष्ट सकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यासित रुपमा संसद विघटन गरेपछि प्रचण्डहरु ओली बिरुद्ध आक्रामक भए । प्रतिगामी ओली भन्दै पछिल्लो स्थानीय र संघीय निर्वाचनमा प्रचण्डले काँग्रेससँग सहकार्य गरे । उनैको प्रस्तावमा काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बने ।
तर निर्वाचन पछि यो सत्ता गठबन्धन कमजोर हुने बिन्दुतिर अघि बढेको छ । शक्ति बाँडफाँट र सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्ने बिषयमा सहमति नहुँदा गठबन्धन धरापमा पर्ने स्थिति देखिएको छ ।
यसै कारण अब प्रचण्डले यु टर्न लिने खतरा बढेको निष्कर्ष निकाल्न थालिएको छ । उनले तिनै प्रतिगामी भनिएका ओलीसँग सहकार्य गर्ने संभावना बढेको छ ।
काँग्रेस भित्रको दबाबका कारण देउवा पहिलो प्रधानमन्त्री आफै हुने अडानमा छन् ।
देउवाले पठाएका नेताहरुले प्रचण्डसँग पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा भोलि सकिदैछ । अहिले सम्म दलहरुबीच प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने एकीन हुन सकेको छैन । संभवत ः आजै गठबन्धनको बैठकमा यस विषयमा अघिनुत छलफल हुनेछ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड बनुन् भन्ने कुरामा माधव नेपाल र उपेन्द्र यादव समेत सहमत छन् । ओलीले पनि विभिन्न च्यानल मार्फत प्रचण्डलाई प्रधानमन्त्रीको अफर पठाईरहेका छन् ।
काँग्रेससँग समझदारी हुन नसके अब वामपन्थी नेतृत्वको नयाँ गठबन्धन बनाएर जाने स्टेप प्रचण्डले चाल्न सक्ने उच्च माओवादी स्रोतले दिएको छ । माओवादी भित्र पनि नारायणकाजी श्रेष्ठ सहितका नेताहरु वाम गठबन्धनको पक्षमा रहेको बताईन्छ ।
हिजो प्रतिगामी भने पनि नयाँ निर्वाचन पछि नयाँ परिस्थितिको विकास भएकाले अब त्यस दिशामा माओवादीले कदम चाले कुनै अन्यथा नसोचे हुन्छ, एक माओवादी नेताले भने ।
राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन, एमालेसँग मिलेर वामपन्थी नेतृत्वको गठबन्धन बनाउदाँ कुनै पनि अप्ठ्यारो स्थिति आँउदैन, ती नेताले भने ।
उनका अनुसार पहिलो त यही गठबन्धनबाट पहिलो सरकारको नेतृत्वले प्रचण्डले पाउनु पर्छ भन्ने अन्तिम सम्म माग रहन्छ तर हुँदै भएन भने अर्को विकल्प सोच्न माओवादी बाध्य हुनेछ ।
एमालेसँग मिल्दा प्रचण्डलाई कति सहज , यस्तो छ अंक गणित
एमालेसँग मिलेर सरकार बनाउदा पनि केही गैर वामपन्थी शक्तिलाई पनि सामेल गर्नु पर्ने हुन्छ । आँकडा अनुसार एमालेको ७८ सिट, माओवादीको ३२ सिट, एकीकृत समाजवादीको १० सिट र चित्र बहादुर केसीको १ सिट जोड्दा १२१ सिट हुन्छ । त्यसपछि जसपाको १२ सिट थपिँदा १३३ पुग्छ । त्यसछि लोसपा, नागरिक उन्मुक्ति वा सिके राउतको जनमत पार्टी मध्य कसैलाई नयाँ गठबन्धनमा सामेल गर्नु पर्ने हुन्छ । त्यसरी वैकल्पिक गठबन्धन तयार हुन सक्छ । एमाले अध्यक्ष ओली वर्तमान गठबन्धन टुटे राप्रपालाई समेत सरकारमा ल्याउने वा समर्थनमा उभ्याउने तयारीमा छन । त्यो अवस्थामा पनि वैकल्पिक गठबन्धन बन्न सक्छ । र त्यो गठबन्धनबाट प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री बन्न सक्ने छन् ।