मंसीर ११ काठमाण्डौँ । प्रतिनिधि सभामा समानुपातिकतर्फको ७५ प्रतिशत बढी मत गणना भइसकेको छ । यो अवधि सम्म पनि एमालेबाट विद्रोह गरी नयाँ दल बनाएको एकीकृत समाजवादीले समानुपातिकमा थ्रेस होल्ड पार गर्न सकेको छैन ।
आइतबार बिहानसम्म समानुपातिकतर्फ ८३ लाख ९२ हजार २९८ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत मात्रै पाएको छ। यो खसेको सदर मत हिशाब गर्दा सले २.६५ प्रतिशत मत पुगेको छ । तीन प्रतिशतको थ्रेस होल्ड पार गरी राष्ट्रिय पार्टी बन्न अझै कम्तीमा ८० हजार बढी मत ल्याउनु पर्ने हुन्छ ।
निर्वाचन आयोगका अनुसार मंसिर ४ को निर्वाचनमा १ करोड ७९ लाख मतदाता थिए। आयोगको तथ्यांकअनुसार यसपालि ६१ प्रतिशत मतदान भएको छ। अर्थात् १ करोड ९ लाखको हाराहारीमा मत खसेको छ। यसरी हेर्दा अब झन्डै २५ लाख मत गन्न बाँकी छ ।
समानुपातिकमा थ्रेसहोल्डको मापन सदर मतमा गरिन्छ। अहिलेसम्म कति मत बदर भएको छ भन्ने एकिन तथ्यांक सार्वजनिक भएको छैन ।
मोटामोटी हिसाब गर्दा समानुपातिकमा कुनै दलले थ्रेस होल्ड कटाउन ३ लाख २० हजार बढी मत पाउनु ल्याउनु पर्ने हुन्छ।
यसको अर्थ समानुपातिकमा थ्रेस होल्ड कटाउन एकीकृत समाजवादीले गन्न बाँकी २५ लाख मतमध्ये १ लाखको हाराहारीमा मत ल्याउनु पर्ने देखिन्छ।
प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० क्षेत्रमा जित हात पारेको छ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको इलाम १ मा यो पार्टीले समानुपातिकतर्फ केही मत बढाउन सक्छ। मतगणना सुरू नै नभएका दोलखा, स्याङ्जा २ र बाजुरामा यो दलले कति मत पाउँछ भन्ने एकिन छैन।
थ्रेस होल्ड नकटाएमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदहरु स्वतन्त्र सांसदको रुपमा सदनमा हुनेछन् । समानुपातिकबाट पाउने सिट घट्दा गठबन्धनलाई सरकार बनाउन समेत असहज हुन सक्ने खतरा छ ।