कार्तिक २ झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले ‘मिसन १५०’ बनाएर निर्वाचनमा होमिएको र आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर १५० सिट जितेर एकलौटी सरकार बनाउने दावी गरेका छन् ।
झापाको दमकमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले एक्लै उक्त सिट ल्याएर बहुमतको सरकार बनाउने ठोकुवा गरे ।
अहिले देशमा एमालेको लहर बढेको र गठबन्धनका छेस्काछेस्कीले एमालेलाई रोक्न छेक्न नसक्ने जिकिर उनको छ ।
प्रत्यक्षमा एमालेले देशभर १ सय सिट जित्ने निश्चित रहेको र समानुपातिकमा ५० सिट ल्याउने दावी गरे ।
ओलीले आगामी निर्वाचनबाट राप्रपा पनि राष्ट्रिय पार्टी बन्ने दावी गरे । माधव नेपाल, उपेन्द्र यादव र महन्त ठाकुरको पार्टी राष्ट्रिय पार्टीमा कायम नरहने ओलीको भविष्यवाणी छ ।
अब देउवा सरकारको आयु कमिला र लामखुट्टको खुट्टा पनि छोटो रहेको उनको जिकिर छ ।