चुनावः जाजरकोटमा गठबन्धनको मत बलियो

चुनावः जाजरकोटमा गठबन्धनको मत बलियो

  • शुक्रबार, अशोज २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

सुर्खेत, २८ असोज । पछिल्लो तीन दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलिय प्रतिस्पर्धा हुने गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) मिसिएको छ । जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ ।

कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले बाजी मा¥यो । क्षेत्र नं १ बाट कालीबहादुर मल्ल र क्षेत्र नं २ बाट भक्तबहादुर शाह विजयी भए । त्यसयताका हरेक निर्वाचनमा माओवादी भने जिल्लामा नतिजा शून्य हुनुपरेको छैन ।

२०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ बाट माओवादीका शक्तिबहादुर बस्नेत निर्वाचित भए, क्षेत्र नं २ बाट भने कांग्रेसका राजीवविक्रम शाहले चुनाव जितेका थिए ।

२०७४ मा प्रतिनिधिसभाको निर्वाचन हुँदा जाजरकोट एउटै निर्वाचन क्षेत्रमा कायम भयो । उक्त निर्वाचनमा बस्नेत र शाह आमने–सामने भए । तर एमालेको समेत साथ पाएका बस्नेतले बाजी मार्दा शाह पराजित भए । बस्नेतले ३२ हजार दुई सय ८१ मत पाउँदा शाहले २३ हजार दुई सय ८९ मत पाएका थिए ।

प्रतिनिधिसभाको कार्यकाल पूरा भइसकेकाले आगामी मंसिरमा पुनः निर्वाचन हुँदैछ । यसपटकको निर्वाचनमा माओवादी केन्द्रले पुनः शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक एमालेको साथ पाएर जितेका बस्नेत यसपटक नेपाली कांग्रेससहितको सत्तागठबन्धनको साथमा लगातार तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

बस्नेतसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज आचार्यलाई अघि सारेको छ । अघिल्लो पटक माओवादीसँगको गठबन्धनका कारण प्रदेशसभा सदस्यको उम्मेदवार हुन नपाएका आचार्य यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् ।

को कति बलियो ?

२०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो । जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाअध्यक्ष एमालेले जितेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाअध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाअध्यक्ष जितेको थियो ।

त्यसको पाँच वर्षपछि २०७९ वैशाखमा दोस्रो पटक स्थानीय निर्वाचन हुँदा एमाले र कांग्रेसले समान तीन-तीन पालिका जितेका छन् । माओवादीले भने एउटा पालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भयो । सोही निर्वाचनलाई आधार मानेर हेर्दा जिल्लामा सत्तारुढ गठबन्धनसँग करिब ४० हजार हाराहारी मत छ । एमालेको मत २६ हजार हाराहारी रहेको देखिन्छ ।

प्रदेशतर्फ

प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अघिल्लो पटक गठबन्धन गरेका एमाले र माओवादीले एक-एक क्षेत्र बाँडेका थिए । जसअनुसार प्रदेशसभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार नौ सय ११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार आठ सय ७८ मत पाए ।

त्यसैगरी प्रदेश सभा (ख) मा बाम गठबन्धनकै उम्मेदवार एमालेका करवीर शाहीले १५ हजार एक सय ८५ मत ल्याएर विजयी भए । कांग्रेसका दिपकजंग शाहले १० हजार तीन सय ६० मत पाएका थिए ।

यसपटक एमाले एकातिर छ भने कांग्रेस र माओवादीसहित एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलगायत सत्तारुढ दल अर्कोतिर छन् । त्यसैले पनि प्रदेशसभाको दोस्रो निर्वाचन जाजरकोटमा थप रोचक हुने देखिन्छ ।

निर्वाचन क्षेत्र नं १ (क) मा भेरी र नलगाड नगरपालिकासहित बारेकोट गाउँपालिका र कुसे गाउँपालिकाको पाँच वटा वडा रहेका छन् । गत वैशाखको स्थानीय निर्वाचनको मतअनुसार यो क्षेत्रमा सत्तागठबन्धनसँग करिब २२ हजार मत छ । एमालेसँग करिब १४ हजार मत रहेको देखिन्छ । सत्ता गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार हुनेछन् । एमालेले डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

यसैगरी, छेडागाड नगरपालिकासहित जुनिचाँदे, शिवालय गाउँपालिका र कुसे गाउँपालिकाका चार वटा वडा रहेको क्षेत्र नं १ (ख) मा गठबन्धनसँग करिब १८ हजार मत छ । एमालेसँग भने १२ हजार हाराहारी मत छ । प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसले राजिव विक्रम शाहलाई उम्मेदवार बनाएको छ भने एमालेले खिमबहादुर शाहीलाई अघि सारेको छ । यिनै दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी