भदौ १९ काठमाण्डौँ । कुनै समय संसदमा १७ पटक सम्म प्रधानमन्त्रीको चुनाव लडेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यस पटक पनि प्रधानमन्त्री हुने आकांक्षा सार्वजनिक गर्न पछि परेका छैनन् ।
उनी यस पटक चुनाव जित्न गठबन्धनको निरन्तरतादेखि तनहुँमा आफ्नो सिट सुरक्षित गर्न दौडधुपमा छन् ।
उनी निरन्तर तनहुँमै बाक्लो आउजाउ गरिरहेका छन् । त्याहाँका उद्घाटन, भेला कार्यक्रम, सभा समारोहमा पौडेल पुगिरहेकै छन् ।
उमेरले ७० नाघेका पौडेल यस पटक अन्तिम पल्ट भन्दै चुनाव लड्ने योजनामा छन् । उनी तनहुँबाट चुनाव जितेर प्रधानमन्त्री बन्न चाहन्छन् ।
तनहुँमा आदिकवि भानुभक्त क्याम्पसको ३६ औँ वार्षिकोत्सवमा उनले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजिरहेको दावी गरे ।
‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा आफू लागेको भन्दै त्यो कार्यभार पूरा गर्न कार्यकारी पद आफूलाई चाहिएको बताए ।
देशको भविष्य वनाउने, प्रगति र उन्नति गर्ने दुरदृष्टि आफूसँग भएको पनि उनको जिकिर छ । आफू राजनीतिमा लागेकै कारण १४ वर्ष जेल बसेको स्मरण गर्दै पौडेलले युवाले राजनीतिमा आउनै हुन्न भन्ने पनि हैन र बुढाले राजनीति गर्नै हुँदैन भन्ने पनि नभएको तर्क समेत गरे ।
उनी प्रधानमन्त्री हुन पहिलो स्टेप निर्वाचन जित्नै पर्छ । दोस्रो काँग्रेसले संसदीय दलको नेता चयन गर्नु पर्छ । तेस्रो पार्टीको या गठबन्धनको तर्फबाट बहुमत चाहिन्छ ।
अहिले एकातिर काँग्रेस भित्रै गगन थापाले प्रधानमन्त्रीको दावी गरीरहेका छन् । ज्योतिषिय भविष्यवाणीमा विस्वास गर्ने प्रधानमन्त्री शेर बहादुर देउवा अझै एक पटक प्रधानमन्त्री बन्न चाहन्छन् । अर्कोतिर गठबन्धनको प्रमुख साझेदार माओवादी अध्यक्ष प्रचण्ड पनि मंसीर ४ पछि प्रधानमन्त्री बन्ने योजनामा छन् ।
यस्तो अवस्थामा पौडेलले अन्तिममा पालो पाउलान त ? यो संसयको विषय छ ।
अहिले एकातिर युवाहरुमा वृद्ध नेताहरुलाई नो नट अगेन भन्दै उनीहरुलाई राजनीतिबाट बिदा दिनु पर्ने अभियान सामाजिक सञ्जालमा चलिरहेको छ । जो सूचीमा पौडेल पनि छन् ।
अहिले युवा जमात र सामाजिक सञ्जालको प्रभाव कति छ भन्ने कुरा स्थानीय निर्वाचनमा वालेन र हर्कको उदयले स्पष्ट गरेको छ । यो अवस्थामा देशले रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका रुपमा खोजिरहेको छ या उनी आफ्नो महत्वकांक्षा देशलाई बोकाउन खोजिरहेका छन् ?