सँधै एउटैलाई र आफन्तलाई मात्र सांसद मन्त्री बनाएको आरोप खेपेको माओवादीले यसपालि केही परिवर्तन गर्ला ?
भदौ १४ काठमाण्डौँ । माओवादीले काँग्रेस एमालेलाई कहिले प्रतिकृयावादी , संसोधनवादी, यथास्थितिवादी भन्दै आएको थियो । माओवादीले आफूलाई अग्रगामी, परिवर्तनकारी क्रान्तिकारी शक्तिको रुपमा बुझाउने गरेको छ । हुन पनि दश बर्ष जनयुद्ध लडेर अहिलेको परिवर्तनका लागि निर्णायक भूमिका माओवादीले खेलेको हो भन्नेमा धेरैमा दुविधा छैन ।
तर जब ६३ सालदेखि सांसद मन्त्री हुने अवसर आयो त्यो बेलादेखि माओवादी भित्र नेता आफै, आफन्त, श्रीमती भाईभतिजलाई मात्रै यो लाभको पदमा दोहोर्याई तेहर्याई अवसर दिईएको तर युद्ध लडेका हजारौँले अवसर नपाएको गुनासो र असन्तुष्टी पार्टी भित्र छ ।
यही पृष्टभूमिमा यस पटकको निर्वाचनमा नयाँ मोड देखा पर्दैछ । काँग्रेस र एमालेले यस पटक अलि परिवर्तनकारी निर्णय गर्दै काँग्रेस र एमालेले समानुपातिक सांसदमा पहिला भईसकेकालाई नदोहोर्याउने आन्तरीक निर्णय गरिसकेका छन् । काँग्रेसले मातहतका कमिटिहरुलाई सिफारीस गर्दा पहिला भईसकेकालाई दोहोर्याएर सिफारीस नगर्न सर्कुलर गरेको छ ।
एमालेले हालै केन्द्रीय समितिको बैठकबाटै पहिला समानुपातिक सांसद भईसकेकालाई नदोहोर्याउने औपचारीक निर्णय नै गरिसकेको छ ।
यो निर्णयले माओवादी भित्र पनि शीर्ष नेताहरुमा नैतिक दबाब बढेको छ । माओवादीले यो विषयमा आधिकारीक र ओपचारीक रुपमा केही बोलेको छैन ।
तर सबै भन्दा बढी आफन्त नातागोता र एउटै मान्छेलाई मात्रै पटक पटक अवसर दिएको आरोप खेपेका माओवादी शीर्ष नेतृत्वलाई यसमा केही परिवर्तनकारी निर्णय गर्न दबाब पुग्ने देखिएको छ ।
यस विषयमा मिर्मिरेसँग कुरा गर्दै माओवादी महासचिव देव गुरुगंले क्रान्तिको आवस्यकता र पार्टीको निर्णयका आधारमा सांसदहरु दोहोरिन सक्ने स्पष्ट पारे ।
काँग्रेस र एमालेका लागि क्रान्ति पूरा भईसकेकाले आलोपालो खाँउ भन्ने होला तर हाम्रो लागि क्रान्तिको कार्यभार बाँकी छ , समाजवादी क्रान्ति पूरा गर्नु पर्ने छ , त्यो अभियानका लागि सक्षम र योग्य नेतृत्व कतिपय दोहोरिन सक्नु हुन्छ, कतिपय नयाँ आउनु हुन्छ, महासचिव गुरुगले भने ।
माओवादी भित्र आवस्यकताको नाममा जहिल्यै सांसद मन्त्री भईरहेकाहरु यी हुन्
पार्टी स्थायी समिति सदस्य ओन्सरी घर्ती मन्त्री,उपसभामुख, सभामुख सम्म भईसकेकी छन् । उनी पार्टी भित्रै प्रभाव राख्ने नेता वर्षमान पुनकी श्रीमती पनि हुन् । ओन्सरी पहिलो संविधान सभा चुनावमा समानुपातिक थिइन् भने दोस्रो संविधान सभा चुनावमा रोल्पाबाट प्रत्यक्ष चुनाव जितेकी थिइन । त्यसपछि ओन्सरी सभामुख भई २०७४ सालको चुनावमा समानुपातिक सांसदमा परिन ।
जयपुरी पहिलो संविधान सभा चुनावमा रोल्पाबाट निर्वाचित भएकी थिइन् । त्यसपछि जयपुरी महिला तथा बालबालिका मन्त्री समेत भएकी थिइन् । २०७४ सालमा पनि उनी समानुपातिक सांसद बनिन् ।
यस्तै डोल्पाकी सत्या पहाडी पहिलो संविधान सभा २०६४ सालको चुनावमा डोल्पाबाट प्रत्यक्ष चुनाव जितिन् । शान्ति तथा पुनर्निर्माण मन्त्री बनिन् । दोस्रो संविधान सभा २०७० सालको चुनावमा डोल्पाबाट पराजित भइन् भने २०७४ सालको चुनावमा समानुपातिक सांसद भइन । पहाडी नेता शक्ति बहादुर बस्नेतकी श्रीमती हुन् । बस्नेत पनि पटक पटक जाजरकोटबाट सांसद हुँदै मन्त्री बनिसकेका छन् ।
यस्तै स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी पहिलो संविधान सभा चुनावमा बाँकेबाट प्रत्यक्ष निर्वाचित भइन्। त्यसपछि उपसभामुख भई संसद्को बैठक समेत सम्हाल्ने अवसर पाइन् । २०७० सालको दोस्रो संविधान सभा चुनावमा पराजित भइन् भने २०७४ सालको चुनावमा समानुपातिक सांसद बनिन् ।
दोस्रो संविधान सभा २०७० सालमा समानुपातिक लिस्टमा परेर सामान्य प्रशासन मन्त्री भइन् । २०७४ सालको चुनावमा भने रेखा समानुपातिक लिस्टमा परिन् । रेखा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काकी श्रीमती हुन् ।
यस्तै अर्की स्थायी समिति सदस्य धर्मशिला चापागाई पहिलो संविधान सभा २०६४ सालको चुनावमा झापा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसपछि तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्य राज्य मन्त्री समेत भएकी थिइन् । दोस्रो संविधान सभा चुनाव २०७० सालमा झापाबाटै पराजित भएकी थिइन । २०७४ सालको चुनावमा भने धर्मशिला समानुपातिक लिस्टमा परेकी थिइन् ।
यस्तै स्थायी समिति सदस्य अमृता थापा मगर पहिलो संविधान सभा २०६४ सालको चुनावमा समानुपातिकमा थिइन भने २०७४ सालको चुनावमा समेत समानुपातिकमा परिन् । थापामगर सचिव हितमान शाक्यकी श्रीमती समेत हुन् ।
अर्की स्थायी समिति सदस्य यशोदा सुवेदी गुरुङ पहिलो संविधान सभा २०७४ र २०७४ सालको चुनावमा गरेर दुई पटक समानुपातिकमा परिन् । सुवेदी बाहुन परिवारमा जन्मेपनि गुरुङ समुदाय अर्थात् जनजाति समुदायबाट समानुपातिकमा सांसद भएको भन्दै पार्टीमा बिरोध भएको थियो । सुवेदी पार्टी महासचिव देव गुरुङकी श्रीमती समेत हुन् ।
स्थायी समिति सदस्य एवम भूमि सुधार मन्त्री शशी श्रेष्ठ २०७४ सालको चुनावमा समानुपातिक सांसदमा बसेकी थिइन् । श्रेष्ठ यसअघि स्वास्थ्य राज्य मन्त्री मात्रै भएकी थिइन् । उनी स्थायी समिति सदस्य लीलामणि पोखरेलकी श्रीमती समेत हुन् ।
यति मात्रै हैन कृष्ण बहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, गिरिराजमणि पोखरेल जस्ता नेताहरु पार्टी भित्रबाट सबै भन्दा धेरै पटक मन्त्री भएकाहरु हुन् ।
यसरी एउटै नेता, परिवार भित्रका मात्रैले पटक पटक सांसद मन्त्री खाएको भन्दै माओवादी भित्र पनि यस पटक नयाँलाई अवसर दिन आन्तरीक दबाब बढेको स्रोतको दावी छ । एक केन्द्रीय सदस्यले क्रान्ति र माथिको निर्णयको नाममा अब पटक पटक एउटै व्यक्ति सांसद मन्त्री भईरहने चक्र माओवादीले पनि तोड्नु पर्ने आवस्यकता रहेको बताएका छन् ।
यो आन्तरीक दबाब, सार्वजनिक चर्चा र काँग्रेस र एमालेको निर्णयले समेत माओवादी माथि नयाँ अनुहार समावेश गर्न दबाब बढेको देखिन्छ ।