फरासिला बाजेको निरसिलो कथाः ‘रोगले छोएन, दुःखले छोडेन’

फरासिला बाजेको निरसिलो कथाः ‘रोगले छोएन, दुःखले छोडेन’

  • बुधबार, साउन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

गलेश्वर, २५ साउन । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उहाँलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् ।
झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ पीडा थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ ९छोरा नहुनुको पीडा० चह¥याइरह्यो, दुखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्नुहुन्छ । उहाँको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा ९पत्नी० पनि आफूभन्दा पहिला छुट्लिन् ९मृत्यु होला० कि भन्ने पिरले उहाँलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्नुहुन्छ ।

वृद्धभत्ता नै बाँँच्ने सहारा

मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पत्ति खानेकुराको भने सौखिन नै हुनुहुन्छ । जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाउँ र के लाउँको समस्या भने छैन ।
बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुहुन्छ । “मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्” शर्माले भन्नुभयो । उमेरले नेटो काटे पनि उहाँको स्वभाव भने बालसुलभ नै छ । स–साना बालबालिकासँग जिस्कदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उहाँको बानी रहेको छ ।

रोगले छोएन, दुःखले छोडेन

पचास वर्षको उमेर पार गर्न नपाउँदे नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुनुहुन्छ । रोगको बारेमा सोध्दा उहाँले ठट्यौली शैलीमा भन्नुभयो, “चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरु त केही हुँदैन ।”
उमेरमा अरुको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उहाँकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली हुनुहुन्न । असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भन्नुभयो “घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियाँै अनि झारेगैरा ९तराई० गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौंँ ।”

‘सय कटे बिहे गर्थें’

मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् । उहाँका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आउनु भएका थापालाई राससले ‘तपाइँको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भन्नुभयो “सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।” थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हाँस्नुभयो । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ । अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोड्नु भएको छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्नु हुन्छ । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कदै खाने उहाँका छिमेकी शर्माले बताउनुभयो ।

श्रीमती खिरकुमारीलाई आफूले फकाएर विहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउनुहुन्छ । “पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ।।।।।।” भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भन्नुभयो “सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।”

रातका साथी कुकुर

दिनभरि गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्ने गर्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ? ’
रात अवेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्नुहुन्छ । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ । उहाँले एउटा सेतो कुकुर पाल्नु भएको छ । घरको सुरक्षा गर्नेदेखि देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उहाँहरुले ‘सेते’ नामले बोलाउनुहुन्छ । त्यही कुकुरलाई सुम्सुम्याउनुहुन्छ, माया गर्नुहुन्छ र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउनुहुन्छ ।

“बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।” ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ ।सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । खिरकुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आउनुभएको छ ।

“शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ,” खिरकुमारीले भावुक बन्दै भन्नुभयो “बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।”थापा दम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरु हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पत्ति मान्नुहुन्न । उहाँहरु भन्नुहुन्छ “बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामथ्र्य छैन ।”

हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहनुभएको उहाँका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरुको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पत्तिले मान्नु भएन । उहाँ भन्नुहुन्छ “यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन ।’’आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा हुनुहुन्छ । कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी