जुम्ला, ४ माघ । चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटिले कर्णाली राजमार्गमा अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका प्रहरी साहयक निरीक्षक विमल कुमार रावतले बताए ।
सडक दुर्घटनाका कारण जुम्लालगायत कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको छ । तर, पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन ।
उनका अनुसार सडक दुर्घटना कम गर्न निरन्तर अभियानहरू चलाइरहेको दाबी गर्छन् । तर, ट्राफिक प्रहरीको विवरण हेर्ने हो भने जुम्लामा सडक दुर्घटनाबाट हरेक महिनामा औसतमा सात जनाको ज्यान जाने गर्छ । यस कारण सजिलै अनुमान गर्न सकिन्छ कि हरेक वर्ष सडक दुर्घटनाबाट हुने मानवीय क्षति बढ्दो छ ।
तर, यस्ता दुर्घटनाको कारणप्रति कसैले पनि खासै चासो नराखेको उनको तर्क छ । ‘सडक दुर्घटनाको अनुसन्धान पनि हुँदैन कोही ठूलाबडा परिहाले भने अनुसन्धान हुने हो । त्यो पनि विज्ञहरू राखेर हुँदैन । त्यसले के प्रस्ट हुन्छ भने जुम्लामा मात्रै नभई देशमै सडक सुरक्षालाई राज्यले प्राथमिकतामा राखेको देखिँदैन,’ उनले भने ।
उनका बुझाइमा सडक दुर्घटनाका लागि यान्त्रिक गडबडीभन्दा मानवीय कमजोरी सबैभन्दा बढी जिम्मेवार देखिने गरेका छन् । उनी भन्छन् ‘सडकमा टोल लगाएर भए पनि राम्रो सडक बनाए कम क्षति हुनसक्छ।’
सडक दुर्घटनाका प्रमुख कारण
सडक सुरक्षासम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा बर्सेनि बढ्दो सडक दुर्घटनाका कारण कर्णालीले सक्रिय रुपको ठूलो जनसंख्या गुमाइरहेको छ । जुम्ला सडक खण्डमा आर्थिक वर्ष २०७१र७२मा ६ वटा सवारी दुघर्टनामा २४ जनाको मुत्यु भएको छ भने ३४ जना गम्भीर घाइते भए ।
त्यस्तै २०७२र७३ सवारी दुर्घटनाबाट ६ जनाको मुत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला ट्रफिक कार्यालयको तथ्याङक छ । २०७३र७४मा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
२०७४र७५ मा १३ जनाको मृत्यु भयो भने २०७५र७६ मा २५ वटा सवारी दुर्घटना ६ जनाको मृत्यु र नौ जना घाइते भए । २०७६र७७मा १५ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो भने सात जना घाइते भए ।
२०७७र७८ मा सवारी दुर्घटना ३२ वटा भएका छन् । जसबाट चार जनाको मृत्यु र ४० जना घाइते भए । चालु आर्थिक वर्षको हालसम्म सवारी दुघर्टनाबाट नौ जनाको मृत्यु भएको छ भने नौ जना नै घाइते भएका छन् । २०७१ सालदेखि हालसम्म सवारी दुर्घटनाबाट ७८ जनाको मृत्यु भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाले बताएको छ । त्यस्तै १२५ जना घाइते भएका छन ।
ट्रफिक कार्यालय कर्णाली प्रदेशका अनुसार २०६६÷६७ देखि चालु आर्थिक वर्षको हालसम्म ४३२ वटा सवारी दुर्घटना भएका छन । उक्त दुर्घटनाबाट १५५ पुरुष, ३१ जना महिला, १० जना बालक र एक बालिका गरी १९७ जनाको मृत्यु भएको ट्रफिक कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
यो तथ्याङक कर्णाली राजमार्गको दैलेख , कलिकोट र जुम्लाको मात्र भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका प्रहरी साहयक निरीक्षक विमलकुमार रावतले बताए ।
उनका अनुसार सबैभन्दा दुर्घटना जुम्लाको कच्ची सडकमा हुने गरेको छ । कच्ची सडक त्यसैमा साँघुरो तीव्र गतिमा सवारी गुडाउने, सडकमा खाल्डो छल्न खोज्दा दुर्घटना हुने गरेको पाइन्छ ।
सडक सुरक्षाका लागि चालक सबै हिसाबले योग्य र जिम्मेवार हुनुपर्छ भन्ने मान्यतासहित यातायात व्यवस्था विभागले २०६९ सालमा ‘व्यावसायिक सवारी चालक अनुमतिपत्र सम्बन्धी नियमावली’ को मस्यौदा बनाएको थियो । तर, २०७१ सालमा मन्त्रिपरिषद्बाट पारित भएर लागू गर्ने तयारी क्रममै नियमावली थन्क्याइयो ।
यो त एउटा उदाहरण मात्र हो, सडक सुरक्षाका लागि नगरी नहुने समयानुकूल नीतिगत व्यवस्थासहित सुरक्षाको प्रणाली बनाउने काम नै नहुँदा दिनानुदिन दुर्घटना बढिरहेका छन् । जसमा नागरिकहरूले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।