शिवप्रसाद शिवाकोटी नेपाली माटो, नेपाली जन र नेपाली स्वाभिमानमा गौरव मान्ने नेपाल राष्ट्रका गौरवी नागरिक थिए । जनद्रोह, माटोद्रोह र सार्वभौम द्रोहमा लाग्ने मान्छे नै उनको सबैभन्दा ठूलो शत्रु हुन्थे । त्यस्तो बेलामा राज्यबाट खटेर आएका कारिन्दाका नीति, निर्देशन र आज्ञालाई लत्याउने उनी झापा जिल्लाभरिकै वीर पुरुषमा समेत स्थापित भइसकेका थिए । त्यसैले उनी हरसमय पहरेदारको भूमिकामा मौजुद हुन्थे ।
राष्ट्रलाई नोक्सान, किसानलाई मर्का र व्यवहारमा छेकथुन हुने विषयको हरेक दफामा शिवप्रसाद शिवाकोटी निगरानीको भूमिकामा उभिएका हुन्थे । त्यस्तो कृत्यलाई सफल पार्न उनी जुनसुकै बेला पनि हूल बाँधेर हिँड्ने गर्थे । उदाहरणका लागि भन्ने हो भने— २०२६ सालतिरको कुरा हो, कालाबजारीले धानचामल मेचीपारि पुर्याएर नेपाललाई रित्तो पार्ने अवस्थाको सिर्जना गर्ने अभियान चलाएका थिए । त्यतिखेर नेपालतिरबाट भारतमा धानचामल लाने र नेपालमा अनिकाल पार्ने अवस्थाको सिर्जना भएको थियो । त्यस कार्यले भन्सारका कर्मचारी पनि रमाएका थिए । त्यतिखेर कालो धन्दा गर्नेजति सबै एकजुट थिए । तर पनि त्यस्तो अभियान असफल पार्न शिवाकोटी लगायत रामनाथ दाहाल, जयप्रसाद यूके, दधिराम उप्रेती, नेत्र घिमिरेहरू दत्तचित्त भएर लागेका थिए । त्यस्तो कहालीलाग्दो अवस्थामा पनि शिव दाइले आफ्नो क्रान्तिकारी धर्म निर्वाह गरेका थिए । त्यतिखेर उनले रामनाथ दाइ, यूके दाइ, दधिराम दाइ, नेत्र घिमिरे, खडानन्द वाग्ले आदि हूल लिएर उनी मेचीपारि दसगजामा समेत पुगेका थिए र कालाबजारीका ट्रक रोकेर फिर्ता गर्नसमेत उनीहरू सफल भएका थिए । त्यसैले उनीहरू प्रशासनको आँखाको तारो पनि बनिरहेका थिए । तर बिनाकसुर प्रशासनले उनीहरूलाई आफ्नो कब्जामा राख्ने हिम्मत पनि गरेको थिएन । किनभने उनीहरूमार्फत क्रान्तिको ज्वाला दन्किन्छ भन्ने चेतना प्रशासनले बुझ्न थालेको थियो । शिव दाइ कडा थिए र उनी जनप्रेमी थिए । उनले चाहेमा जनहरू तुरुन्तै भेला पार्न सक्छन् भन्ने बेहोराको व्यावहारिक ज्ञानको पाठ प्रशासनले पहिलापहिला पनि ग्रहण गरिसकेकै थियो ।
२०२६ सालतिरकै कुरा हो— मेची नदीमा बाढी आइरहेको थियो । त्यति बेला मेची नदी आफ्नो स्वरूप बदलेर भारतबाट नेपालतिर खाँदिएको थियो । त्यस ठाउँलाई झापाको महेशपुर भनिन्छ । त्यति बेला मेची नदी वारिपट्टि बगेपछि पारिपट्टि भारत देखिने अवस्था आएको थियो । त्यतिखेर प्रशासन भने त्यो दृश्य टुलुटुलु हेरेर बसेको अवस्था थियो । तर शिव दाइले त्यो दृश्य हेरेर आफूलाई थाम्न सकेनन् । अनि आफ्ना सहयोगी साथीहरू नेत्र घिमिरे, रुद्र खरेल, जयप्रसाद यूके आदिसहित हूल लिएर उनी महेशपुर पुगेका थिए । त्यहाँ गएर उनले सर्वप्रथम नेपालको राष्ट्रिय झन्डा गाडे । त्यस्तो वीर काम गरेका शिव दाइलाई अञ्चलाधीश, सिडियो, पञ्च कसैले पनि सहयोग गरेका थिएनन् । तर उनैले नै त्यो ठाउँ नेपालको हो भनेर खबरदारी गरिरहे । अनि त्यतातिर परेका नेपालीलाई ‘तिमीहरू नेपालको राष्ट्रिय झन्डा रुङेर बस, आफ्नो माटो छाडेर विचलित नहोऊ । तिमीहरूका लागि हामी छौँ’ भनेर सम्बोधन गर्ने पनि शिव दाइ नै प्रथम पुरुष थिए । अनि त्यसपछि खोलापारि पनि नेपालकै जग्गा रहिरह्यो ।
झापा क्रान्तिका अर्का सशक्त योद्धा जयप्रसाद यूकेले मेचीपारिको नेपालका सन्दर्भमा म ९नरेन्द्रराज प्रसाई०लाई पछिसम्म पनि भनिरहे— ‘तिमीले मानेको पञ्चायत व्यवस्था नराम्रो थिएन । तर एकातिर राजा नदेख्ने र अर्कातिर राजाका कारिन्दा धन जोहो गर्न र चाकरीमा व्यस्त हुनाले देश भित्रभित्रै खोक्रिँदै जाने क्रममा थियो । त्यसैले शिवप्रसाद शिवाकोटीहरूले मुलुकको माटोको रक्षा गर्नुपर्ने अवस्था आएको थियो ।’ शिवप्रसादले गाडेको राष्ट्रिय झण्डाको ओतमा बसेर नेपालीले भारतले थुत्न सक्ने नेपालको भूभाग जोगाएका थिए ।
झापाली सांसद राजेन्द्र लिङ्देनका अनुसार ‘मेचीपारि नेपाली बस्ती नै अझै नदीले धार काट्नुअघिकै स्वरूपमा रहिआएको छ ।’ वास्तवमा त्यो नेपाली बस्ती कायम गर्न शिव दाइकै एकछत्र भूमिका थियो । स्थानीय समाजसेवी लवकुमार कोइरालाका अनुसार मेचीपारि नेपाल जानलाई पछि झोलुङ्गे पुलको पनि व्यवस्था भयो । पछिल्लो दिनमा त्यो ठाउँलाई पृथ्वीनगर भनियो । अनि त्यस ठाउँलाई झापाको भद्रपुर नगरपालिकामा गाभियो ।
– ‘शिवप्रसाद शिवाकोटीको जीवनी− ७ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीको विष्णुभक्त प्रसाईसङ्ग संलग्नता’ पढ्नुहोला ।