१८८१ सालमा जनरल भीमसेन थापाले आफ्नै दरबारछेउ धरहरा बनाएका थिए । अनि तात्तातै अर्थात् १८८२ सालमा रानी ललितत्रिपुरसुन्दरीले त्यहीँनेरि अर्को धरहरा बनाएर थापाले बनाएको एकल धरहरालाई जोडी बाँधिदिएकी थिइन् । यी दुई धरहरालाई रानी ललितत्रिपुरसुन्दरी र प्रधानमन्त्री भीमसेन थापाको एक अर्काप्रतिको सम्मान, स्नेह र विश्वासको प्रतीक पनि मानिन्थ्यो ।
ललितत्रिपुरसुन्दरीले गजुरसहितको धरहरा बनाएकी थिइन् । तर जनरल थापाले बनाएको धरहरामा चाहिँ गजुर थिएन । तत्कालीन नेपालमा जोरधरहराका कारण त्यो ठाउँ प्रसिद्ध थियो । ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको चाहिँ अभिलेख यस प्रकार छ— ‘स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।। शुभम्’ ।
त्यति बेलाका काठमाडौँका जनतालाई महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्नुपर्दा भने धरहराका टुप्पाबाट बिगुल बजाइने अथवा कराइने गरिन्थ्यो । पछिपछि यो ठाउँ सैनिकका लागि पनि उपयोगी हुन थाल्यो ।
ललितत्रिपुरसुन्दरी र भीमसेन थापाका दुवै धरहरालाई १८९० सालको भूकम्पले क्षति पुर्याएको थियो । साथै १९१३ सालको बज्रले यी दुवै धरहरालाई थप क्षति पुगेको थियो । यी दुवै धरहराको १९२६ सालमा जीर्णोद्धार गरिएको थियो । साथै १९९० सालको महाभूकम्पबाट फेरि यी दुवै धरहरा भत्किएका थिए । त्यस घडी भीमसेन थापाले बनाएको धरहरा जगैबाट गर्ल्र्यामगुर्लुम भत्केको थियो । साथै ललितत्रिपुरसुन्दरीले बनाएको धरहराचाहिँ साढे चार तला सग्लो रहेको तथ्य त्यति बेला खिचेको तस्बिरमा देखिन्छ । उक्त तस्बिरमा एकातिरको मात्रै दृश्य देखिने भएकाले धरहराको चर्केको अरू भाग नदेखिएको पनि हुन सक्छ; किनभने धरहराको मूल ढोकाको सिरानमा राखिएको धातुको अभिलेखमा चाहिँ त्यो धरहरा ‘दुई तलासम्म पुरानो बाँकी भएको’ लेखिएको छ । त्यस अभिलेखको पूर्ण पाठ यस प्रकारको छ— ‘संवत् १८८२ साल चैत सुदी १२ रोज ४ मा श्रीश्रीश्रीमल्ललित त्रिपुरसुन्दरीदेवीबाट बनाइबक्सेको यो धरहरा वि.स.१९९० साल माघ २ गते (माघ कृष्ण ३०) सोमबारको भीषण भूकम्पले भत्कि विग्री दुई तलासम्म पुरानो बाँकी भएकोमा अरु तला उठाई बनाई श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट वि.स.१९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको ।। शुभम् ।।’
नौ तले धरहराको सातौँ तलामा बार्दली रहेको थियो । जमिनदेखि नवौँ तलासम्म २३८ वटा खुड्किला रहेको धरहराको माथिल्लो तलामा शिवलिङ्गको स्थापना गरिएको थियो । धरहराको उचाइ २०३ फिट थियो । तर जगदीशचन्द्र रेग्मीले धरहराको उचाइलाई ‘यो २५० फीटजति अग्लो छ भनिन्छ’ लेखेका छन् भने गौतमबज्र बज्राचार्यले ‘९० हात’८ उल्लेख गरेका छन् ।
जुद्धशमशेरले १९९२ सालमा जीर्णोद्धार गरेकै शैलीलाई लत्याएर अहिलेका प्रधानमन्त्रीले धरहराको कपी राइट किन उलङ्घन गरे ? गणतान्त्रिक प्रधानमन्त्री हुँ भन्ने मान्छे जुद्धशमशेरको दौराको फेरसम्मको उचाइसम्म पनि नआउने हो भने धरहरा निर्माणकै के अर्थ रहला र ?
त्यति बेलाका काठमाडौँका जनतालाई महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्नुपर्दा भने धरहराका टुप्पाबाट बिगुल बजाइने अथवा कराइने गरिन्थ्यो । पछिपछि यो ठाउँ सैनिकका लागि पनि उपयोगी हुन थाल्यो । साथै धरहराबाटै काठमाडौँ उपत्यकाको दृश्यावलोकनको परिपाटि पनि रहँदै आयो । जनश्रुतिअनुसार धरहरा जोस, जाँगर र जितको प्रतीक मानिन्छ । धरहराको आकार, प्रकार र ढाँचाका कारण यसलाई हिन्दू, इसाई र मुसलमान धर्मको मिश्रित स्वरूप हो पनि भनिन्थ्यो ।
२०७२ साल वैशाख १२ गते शनिबार आएको महाभूकम्पबाट ललितत्रिपुरसुन्दरीले बनाएको धरहरा सानो ठुटो मात्र बाँकी रही गर्ल्र्यामगुर्लुम भत्केको थियो । त्यति बेला सो भूकम्प ७.७ रेक्टरको मापन गरिएको थियो । त्यसपछि त्यसै ठाउँमा त्यही शैलीको नयाँ धरहरा बनाउने कार्य भएको थियो । जुद्धशमशेरले १९९२ सालमा जीर्णोद्धार गरेकै शैलीलाई लत्याएर अहिलेका प्रधानमन्त्रीले धरहराको कपी राइट किन उलङ्घन गरे ? गणतान्त्रिक प्रधानमन्त्री हुँ भन्ने मान्छे जुद्धशमशेरको दौराको फेरसम्मको उचाइसम्म पनि नआउने हो भने धरहरा निर्माणकै के अर्थ रहला र ? अहिलेसम्म कतै नफालिएको शिलापत्र भोलिका दिनमा चाहिँ त्यहाँबाट उखाल्नु पर्यो भने के हुन्छ ?