कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

काठमाडौं । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ ।
‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन् । ‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक पनि उनी आफै रहेका छन् । नेपालमा आकस्मिक रुपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अबस्थामा पनि अनुकरणीय काम गरेका युवाहरुको कथामा ‘सिभिल सोल्जर्स’ केन्द्रीत रहेको निर्देशक तथा कार्यकारी निर्माता पाण्डेले जानकारी दिए ।
यो वृत्तचित्र फिल्म आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा रिलिज हुँदैछ । लकडाउनका बेला मानिसहरु घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टिम यो डकुमेन्ट्री बनाउन ब्यस्त थियो । यसलाई पुकार तिमिल्सिना र अबिनाश लामाले क्यामरामा कैद गरेका छन् ।
काठमाडौँका रैथाने मनोजकुमार श्रेष्ठले ३७ वर्षको उमेरमा यस्तो सुनसान र पीडादायी परिस्थिति कहिल्यै पनि देखेका थिएनन् । एम्बुलेन्सले बिरामी बोक्न नमान्ने अनि मान्छे देखेर मान्छे तर्सिने परिस्थिति देखेपछि मनोज निजी कारलाई एम्बुलेन्स बनाउँदै सर्वसाधारण बिरामीहरुको सेवामा निस्किए । अरुको सेवा गर्दागर्दै उनी कोरोना संक्रमित भए । कोरोनाको रिपोर्ट पोजेटिभ आए पछि उनी आफै दंग परे, कुनै लक्षण नदेखिएकाले फाइल साटियो कि भन्ने आशंका समेत गरे । गभर्वती श्रीमतीलाई घरमै छाडेर आइलोशनमा जाँदा उनले भोगेका पीडादायक क्षण अनि कोरोनो जितेर फर्केपछिको उनको भोगाइ यो डकुमेन्ट्री फिल्ममा कैद गरिएको छ ।
यसैगरी, भक्तपुरकै अरुण सैंजु र राजेश गाइँजु लकडाउनकै दिनदेखि भक्तपुर अस्पतालमा रहेर कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए । सरकारको आग्रहमा अरुण र राजेशले नेपालको पहिलो कोरोना संक्रमितको शव उठाएका थिए । नेपालको पहिलो मृत महिलाको शव जलाएर फर्केपछि अरुणले टोलबासीबाटै अपमानित हुनुुपरेको थियो । जीवनमा पहिलोपटक लास छुँदा डराएका राजेशले अरुणसँग मिलेर थुप्रै शवको व्यवस्थापन गरिसकेका छन् । अहिलेसम्म ३४ भन्दा बढीको शव ब्यवस्थापन गरिसकेका उनीहरुको प्रेरणादायी कथा, जंगलको उकुसमुकसपूर्ण एवं कहालीलाग्दो आइशोलेशन बसाईं र समाजले गरेको व्यवहारलाई फिल्ममा समेटिएको छ ।
‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरुको बिभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो । मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरुले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौं । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौं ।’
साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री रहेकी छिन् भने ईश्वर कोइरालाले दृश्य सम्पादन गरेका छन् । आशिष चित्रकारको संगीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, बिन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी