मंसिर १३, दाङ । भारतको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा परि एक जना नेपाली युवाको मृत्यु भएको छ ।
भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका प्रेमबहादुर खत्रीको रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर मृत्यु भएको हो ।
गोलीलागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको भारतीय सन्चारमाध्यमले जनाएको छ ।
पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
भारतको सीमा सुरक्षामा खटिँदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् ।
उनको शव कश्मीरबाट शनिबार बिहान लखनउ आइपुग्ने परिवारलेजनाएको छ । छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए । प्रेमका भाइ लोकराज चार वर्षदेखि अमेरिकामा छन् । उनी भने भारतीय सेनाका भुपु सुबेदार पिताकै पथ पछ्याएर १३ वर्षअघि भर्ती भएका थिए । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।
गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको छिमेकी तुलसी केसीले बताए ।
घटनाका बारेमा ‘लाइन अफ कन्ट्रोल’ मा शान्ति कायम गर्ने समझदारी उल्लंघन गर्दै पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।