विप्वलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको सात बर्षः अहिले सम्म के भयो र अब के हुन्छ ?

विप्वलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको सात बर्षः अहिले सम्म के भयो र अब के हुन्छ ?

  • सोमवार, मंसिर ८, २०७७
  • -सिर्जना तिम्सिना

  • 18.6K
    SHARES

नेपाल एक हिशाबले कम्युनिष्ट जनमतको उर्वर भूमि मानिन्छ । देशमा जनअभिमतको आकंडा हेर्दा पनि ६० प्रतिशत बढी जनमत कम्युनिष्टहरुकै रहेको छ । त्यस्ता कम्युनिष्टहरुको उदय पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा भारतमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको निर्माण पछि संघर्ष, प्रतिबन्ध, शसस्त्र संघर्ष, जनआन्दोलन र जनयुद्ध हुँदै यहाँ सम्म आईपुगेको छ ।
अहिले पनि करीब दुई तिहाई नजिकको सरकार कम्युनिष्ट पार्टीकै छ भने सडकमा आन्दोलन गर्ने वा संघर्ष र क्रान्तिमा रहेको शक्ति पनि कम्युनिष्ट नै । २००६ सालदेखि अहिले सम्म हेर्ने हो भने कम्युनिष्टहरु सिद्धान्त र बिचार वा कार्यदिशाका नाममा पटक पटक फुट र विभाजन हुँदै दर्जनौको संख्यामा रहेका छन् । कसैले माक्र्सवाद मात्र, कसैले माक्र्सवाद लेनिनवाद र कसैले माओवाद पनि मान्ने बहस गर्दै त्यसैसगँ जोडेर आफ्नो पार्टीको नाम राखेका छन् ।

त्यही मध्य अहिले राज्य सत्ता परिवर्तन गरेर वैज्ञानिक समाजवाद स्थापनाका लागि भन्दै एकीकृत जनक्रान्तिको रणनीतिमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा पूर्व माओवादी पार्टीबाट २०६९ सालमा विभाजन भएको मोहन बैद्य नेतृत्वको माओवादी पार्टीबाट पनि अलग भएर बनेको पार्टी गठनको सात वर्ष पुरा भएको छ । आज पाटीं पुर्नगठन दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी उत्सवको रुपमा मनाउने नेकपाले जनाएको छ । साथै आजै दश बर्षे जनयुद्धमा जनमुक्ति सेना नेपालको घोषणा गरिएको दिन पनि माओवादीहरुले मान्दै आएका छन् ।
२०७१ साल कार्तिक तेस्रो साता कपिलबस्तुको शिबगढी जंगलमा दुई दिन राष्ट्रिय भेला गरेर विप्लवले नयाँ क्रान्तिको उद्घोष गरेका थिए । यसमा आफै संलग्न रहेर प्रचण्डबाट अलग्गिएका मोहन बैद्यलाई समेत साथ छाड्ने संकेत विप्लवले दिए । त्यस लगत्तै मंसीर ८ गते कुपण्डोलमा पत्र दिएर विप्लवको नेतृत्वमा नयाँ पार्टी निर्माणको अभियान चल्यो । उनकै पहलमा नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी पुनर्गठन भयो । यही पार्टी विस्तार हुँदै गएर अन्ततः २०७३ साल फागुण १ गते आयोजित आठौं राष्ट्रिय महाधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टीको नामाकरण भयो । त्यसै महाधिवेनले एकीकृत जनक्रान्तिको कार्यदिशालाई औपचारीकदिया रुप दियो । त्यस अघि सम्म विभिन्न सांगठनिक अभियान चलाएको यो पार्टीले ७२ सालको भूकम्प पछि विप्लव स्वयं पनि काठमाण्डौं दोलखा गोर्खा जस्ता जिल्लामा पुगेर उद्धार र राहतमा खटेका थिए ।
त्यसपछि क्रमशः भौतिक कार्बाही अन्तर्गत दलाल तथा भ्रष्टहरुमाथि निशाना बनाउने घोषणा सहित कालोमोसो दल्ने, एनलेसलका टावरमा निरन्तर आगजानी र विष्फोट, चुनाव बहिष्कार जस्ता गतिविधि जारी राख्यो । भ्रष्टाचार गरेको भन्दै तात्कालीन आन्तरीक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड, बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाखर ढकालको घरमा विष्फोट, म्यान पावर व्यवशायी रोहण गुरुगंको घरमा विष्फोट, एनसेलको मुख्यालय नख्खुमा विष्फोट जस्ता घटनाहरुको सो पार्टीले जिम्मेवारी नै लियो ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन र प्रदेश तथा संघको निर्वाचनमा शसक्त बहिष्कारको घोषणा गरेको नेकपाले थुप्रै नेता लक्षित विष्फोटहरु गराएको थियो भने त्यस बखतमा दागं, कालिकोट लगायतका स्थानमा केही मानवीय क्षति समेत भयो । यी मध्य सबै भन्दा नख्खु बिष्फोटले नै ध्यानाकर्षित गर्यो । फागुण १० मा भएको सो विफोटमा एक जना सर्वसाधारणको ज्यान गयो । त्यसै घटना पछि ओली सरकारले फागुण २८ मा नेकपामाथि प्रतिबन्ध लगायो र हाल सम्म कायम रहेको छ ।

प्रतिवन्ध पछिको नेकपा : अबको यात्रा कता ?
सो प्रतिवन्ध पानीको फोका जस्तो बिलाउने र प्रतिरोध गर्ने उद्घोष सहित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले कडा विज्ञप्ति जारी गरेका थिए । उनले गाँउ गाँउमा सरकारी पार्टीमाथि पनि प्रतिवन्ध लगाउने चेतावनी जारी गरेका थिए । यस प्रतिवन्धको बिरुद्ध अन्य राजनीतिक दल, नेकपा भित्रकै नेता, बुद्धीजीवी क्षेत्रबाट बिरोध भयो । तर पनि हिजो सँगै लडेर आएका गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रतिवन्धको प्रस्ताव लगेर मन्त्रीपरिषद्बाट लागू गरिएको थियो र प्रतिवन्ध फागुण २८, ०७५ देखि जारी गरिएको थियो ।यो प्रतिवन्ध पछि नेकपाले प्रतिरोध गर्ने बताईरह्यो । विभिन्न विष्फोट, बन्द, हड्ताल जस्ता घटनाहरु भए । कतिपय ठाँउमा दोहोरो गोली हानाहान जस्ता घटना भए पनि शसस्त्र उपस्थिति र गतिविधिको नेकपाले जिम्मेवारी लिएको छैन । धेरैले देश अब गृहयुद्धमा जान सक्ने आंकलन गरेका थिए तर स्थिति त्यो नबने पनि शान्तिपूर्ण समाधान तिर पनि गएको छैन । राज्यले विप्लवले शसस्त्र सेना बनाएको प्रहरी चौकी र व्यारेकमा आक्रमण गर्न सक्छ भन्ने आकंलन गरे पनि त्यस्तो कार्बाहीमा नजाने बरु जनप्रतिरोध र भ्रष्ट दलाल बिरुद्धको संघर्ष जारी राख्ने भन्दै आएको छ ।
प्रतिबन्ध पछि मुख्य गरी प्रहरीले भोजपुरमा नेकपाका कार्यकर्ता तीर्थ घिमिरेलाई ईन्काउन्टरको नाममा हत्या गरेको, सर्लाहीमा कुमार पौडेलको हत्या गरेको र भोजपुरमै निर कुमार राईको हत्या गरेको भन्दै नेकपाले चेतावनी जारी गरेको थियो । यी घटनामध्य भोजपुरमा पछिल्लो पल्ट नीर कुमार राईसगँ सम्बन्धित घटनामा एक जना प्रहरीले पनि ज्यान गुमाएका थिए । यस बीचमा नेपाल बन्दको पूर्व सन्ध्यामा प्रज्वल शाही सहित ६ जना, नेपालगञ्जमा एक जना, स्थानीय निर्वाचनमा एक जना गरी ११ जना नेकपाका कार्यकर्ताले राज्यको ईन्काउन्टर या आन्तरीक दुर्घटनाका कारण ज्यान गुमाएका छन् । पार्टीले उनीहरु सबैलाई एकीकृत जनक्रान्तिका शहीद घोषणा गरेको छ ।
यस अवधिमा पूर्व स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सहित सयौँ नेता कार्यकर्ता जेलमा रहेका छन् । थुप्रेलाई अझै प्रहरीले नियन्त्रणमा लिने क्रम जारी राखेको छ भने एक ठाँउबाट छाड्ने र अर्को ठाँउमा लगेर पुनः थुन्ने र गलाउने अभियानमा राज्य लागिरहेको देखिन्छ । यही बीचमा नेकपाका केही नेता कार्यकर्ता पलायन समेत भईसकेका छन् । यसबीचमा राज्यले दमन र धरपकड जारी राखे पनि नेकपाको प्रतिरोध शान्तिपूर्ण रुपले खुल्ला स्तरमा पनि ठूलो आकारमा भएको पाईएको छैन भने शसस्त्र संघर्षको उद्घोष वा शुरुवात पनि गरेको छैन ।
यद्यपि, जनमुक्ति सेना निर्माण गरीसकेको र अस्थित्वमा रहेको नेकपाले स्वीकार गरीसकेको छ । नत पुरानो जनयुद्धकालीन छापामार युद्ध न त अल्कालीन शसस्त्र विद्रोहको तरीका नै अवलम्बन भएको देखिन्छ । बरु एकीकृत जनक्रान्तिको नयाँ प्रयोग भन्दै नेकपाले एकातिर शान्तिपूर्ण कार्यक्रमहरुमा जोड दिएको देखिन्छ भने दलाल र भ्रष्टका नाममा केही लक्षित भौतिक आक्रमणका गतिविधिहरु पनि गरीरहको देखिन्छ ।
अब यो माध्यमबाट गए पनि अन्ततः अब नेपालमा या त शसस्त्र द्धन्दको दिशामा नेपाल जाने स्थिति आउन सक्छ या त वार्ता मार्फत शान्तिपूर्ण संक्रमणका लागि राज्य र विद्रोही नेकपाले वार्ता र समझदारीको बाटो अवलम्बन गर्न सक्छन् भन्ने आकंलन केही वाम बुद्धीजीवीहरुको रहेको छ ।
शसस्त्र वा विद्रोही समुहहरुसगँ बार्ता गर्न भनी सरकारले सोम प्रसाद पाण्डेको नेतृत्वमा बनाएको समितिले विभिन्न तराईकेन्द्रीत साना समुहसगँ वार्ता गरे पनि बिद्रोही नेकपासगँ वार्ताको प्रयास सफल पार्न सकेको थिएन । पछिल्लो प्रतिवन्ध पछि पनि वार्ताका केही प्रयासहरु अनौपचारीक रुपमा भएको भनिए पनि त्यसले सार्थक रुप लिन सकेको देखिएको छैन ।
दश बर्ष लामो शसस्त्र जनयुद्धमा हजारौ मानिसको रगत बग्यो । कैँयौ वेपत्ता भए जसको आज सम्म पनि कुनै अत्तो पत्तो छैन र आफन्तहरु तड्पिरहेका छन् । द्धन्दमा मारिएकाहरुका परिवारहरुको आज पनि बिचल्लि छ । तर त्यस जनयुद्धको बलमा सत्ता र पदमा पुगेकाहरुले आफूलाई आर्थिक रुपले नयाँ बर्गमा रुपान्तरण गरीसकेका छन् । त्यस्तै बर्गको प्रतिनिधित्व गर्ने मध्यका धेरै जसो नेता कार्यकर्ता शान्ति सम्झौता पछि लाभको पदमा बसिरहेका छन् र हाल बिद्रोही माथि प्रतिवन्ध र कार्बाहीको समर्थक र सहयोगी पनि बनेको देखिन्छ ।
यो स्थितिमा विप्लवले एकीकृत जनक्रान्तिलाई कसरी लैजाने छन् ? त्यसले समाज र देशलाई कुन स्थानमा पुर्याउने छ ? त्यो त हेर्न बाँकी नै छ तर हिजो सगैँ जनयुद्ध लडेर आएकाहरु नै अहिले दमनको अस्त्र लिएर हिँडिरहेको, जनता पटक पटकको आन्दोलन र क्रान्ति पछि पनि वास्तविक जीवनस्तरमा परिवर्तन नआएको, आन्दोलन र संघर्षका नाममा स्थापित भएका सबै जसो नेताहरु रुपान्तरण हैन स्थान्तरण भएर आलिसान जीवन जीईरहेको देखेका जनताले विप्लव नेतृत्वको नेकपा पनि त्यस्तै हुने हो कि भन्ने आशंका एकातिर गरीरहेको देखिन्छ भने अर्कोतिर सत्ता, संरचना एवं सम्पूर्ण देशी विदेशी शक्तिकेन्द्रहरुको कुनै पनि सहानुभुतिको सट्टा विरोध र घेराबन्दी रहेको अवस्थामा समेत क्रान्तिको झण्डा उठाउछु भनेर अघि बढेका बिप्लवले क्रान्तको जहाजलाई कहाँ र कसरी अवतरण गराउनेछन् त्यो भने आगामी परिस्थिति र प्रतिक्षाको बिषय छ । विप्लवले पटक पटक गाँउ र शहर जोड्ने, खुल्ला र भूमिगत एवं शान्तिपुर्ण र शसस्त्र संघर्षलाई जोडेर एकीकृत जनक्रान्ति पुरा गर्ने बताउदै आएका छन् ।

के सरकारले दमनबाट समाप्त पार्न सक्छ नेकपालाई ?
वाम गठबन्धन हुँदै पूर्व माओवादी समेत मिलेर बनेको नेकपाका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा, जो पहिला बिप्लवसगँ पनि सगैँ काम गरेका थिए । बादल त अझ ७० सालको निर्वाचन समेत बहिष्कारको अभियानको नेतृत्व गरेका थिए ।
तर पछि विप्लवले नयाँ पार्टी निर्माण गरे पछि बादल पनि एक समुह लिएर पुनः प्रचण्डतिर फर्किएका थिए र नेकपा बने पछि उनी गृहमन्त्री छन् । उनी आफै त्यस्ता व्यक्ति हुन् जो बन्दुकले बिचारलाई दमन गर्न सक्दैन भनेर कार्यकर्तालाई मर्न र मार्न अभिप्रेरित गर्दै हिड्ने नेता हुन् । तर आज उनले क्रान्ति पुरा भईसक्यो अब अर्को क्रान्तिको आवस्यकता छैन भन्दै प्रशासनिक कार्बाहीबाट आफ्नै पूर्व सहयोद्धाको अभियानलाई समाप्त पार्न खोजेको आरोप लाग्दै आएको छ ।
तर के सरकारको गृहप्रशासन विप्लव नेतृत्वको नेकपालाई निस्तेज पार्न सफल हुन्छ त ? प्रतिवन्धको झण्डठै २ बर्ष पुग्न लाग्दा पनि वार्ताको कुनै वातावरण बनाउनुको सट्टा धरपकड, गिराफ्तारी गर्ने अभियानमा राज्य यथावत रहेको छ । सरकारले गैरकानुनी कृयाकलाप नियन्त्रण गरेरै छाड्ने भनेर अभियान चलाए पनि देशभर विप्लव नेतृत्वको नेकपाले आफ्ना अभियान र गतिविधि जारी राखेको देखिएको छ । धेरै बुद्धीजीवीहरुले बन्दुकको भरमा दमन गर्न खोज्दा गृहयुद्ध र अशान्ति बढ्न सक्ने भन्दै वार्ता र संवादको बाटो अवलम्बन गर्न सरकारलाई पटक पटक सुझाव दिदै आएका छन् ।

एक्लै र अन्तिम सम्म पनि मुट्ठी उठाउन तयार छन् विप्लव !
नेत्र विक्रम चन्द रोल्पामा जन्मिएका युवा कम्युनिष्ट हुन् । उनी भौगोलिक संगठन, जनमुक्ति सेना हुँदै प्रचण्डको सचिवालयमा समेत युद्धकालमा काम गरीसकेका युवा हुन् । उनी संभवत जनयुद्ध शुरु भए पछि सबै भन्दा छिटो पार्टी भित्र केन्द्रीय समिति र पोलिटव्युरोमा पुग्न सफल पनि भएका थिए । शायद उनको प्रतिभालाई देखेर माओवादी नेतृत्वले जिम्मेवारी प्रदान गरेको ।
आखिर किन विप्लवले पुनः क्रान्तिको नारा लिएर अघि बढे त ? यसलाई कतिपयले पद नपाएका कारणले वा महत्वकांक्षाले पनि भन्ने गरेका छन् । तर विप्लवका सार्वजनिक भनाईहरु लिखित दस्तावेजहरुका आधारमा भन्ने हो भने उनले जनयुद्धका क्रममा जनता सामु व्यक्त प्रतिवद्धताहरु, हजारौं मानिसहरुको यत्रो रगत बगाएर के संघीयता र धर्म निरपेक्षता ल्याउनलाई मात्र हैन जनवाद र समाजवाद हुदै साम्यवादतर्फ अघि बढ्नु थियो ।
बीचमा प्रचण्ड बाबुरामहरुको गद्धारी र आत्मसमर्पणले आफूहरुले यो पहलकदमी लिनु परेको विप्लवले तर्क गर्दै आएका छन् । उनले जनयुद्ध यहाँ सम्म ल्याउने नेताहरुलाई सम्मान र धन्यवाद दिदै बाँकी कार्यभार पूरा गर्न अघि बढेको र अन्तिम समय सम्म पनि र आवस्यक परे एक्लै पनि क्रान्तिका लागि उभिरहने बताउदै आएका छन् ।

जंगलमा हैन काठमाण्डौंमा क्रान्ति गर्ने विप्लवको पटक पटकको उद्घोष
एकीकृत जनक्रान्तिको नाममा नयाँ रणनीतिको विकास गरेको दाबी गर्दै आएको नेकपाका महासचिव विप्लवले अबको क्रान्ति रोल्पा या भोजपुर या गाँउमा मात्रै हैन काठमाण्डौमा, शहरहरुमा हुने उद्घोष गर्दै आएका छन् । तीन वर्ष अघि विप्लवको यो उद्घोष हेरौँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी