काठमाण्डौं कार्तिक २४ । कोरोना संक्रमितको उपचार निशुल्क नगर्ने भन्नासाथ धरौटी जम्मा नगरी उपचारै शुरु गर्न पनि सरकारी अस्पतालले मान्न छाडे । निजीमा त यसै पनि लाखौँ असुल भईरहेकै थियो । पैसा नहुने अधिकाशं नागरिकहरु परीक्षण र उपचारका लागि सरकारी अस्पताल वा सरकारले व्यवस्थापन गरेको वा सरकारको अनुमतिले बनेका संस्थागत आईसोलेसनमा जाने गर्दथे ।
कम्तीमा १४ दिन सम्म आईसोलेसनमा राखेर खाना एवं उपचार सबै निशुल्क हुने भए पछि संक्रमण देखिए पनि खासै लक्षण नदेखिएका नागरिकहरु पनि आईसोलेसन जाने गर्दथे ।
तर केही समय अघि निशुल्क उपचार नगर्ने भनेर स्वास्थ्य मन्त्रालयले घोषणा गरे पछि अहिले लक्षण देखिएका संक्रमित पनि आईसोलेसनमा गएर रकम खर्च गर्नुको सट्टा घरमै बसिरहेका छन् । कतिपय त काममा समेत गईरहेको बुझिएको छ ।
सर्वोच्च अदालतले हालै कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्न आदेश दिए पनि सरकारले त्यो कार्यन्वयन गरीसकेको छैन ।
सरकारले गरेको पुनरावलोकन समेत सर्वोच्चले खारेज गरीदिईसकेको छ । यसरी सरकारले नै धमाधम शुल्क उठाएर मात्रै उपचार गर्ने भए पछि नागरिकहरु एक त आर्थिक अभावले र पैसा अनावस्यक खर्च हुने भनेर या किन हो संस्थागत आईसोलेसनमा जाने क्रम घटेको छ ।
आईतबार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार देशभर सक्रिय संक्रमित ३५ हजार ४१९ जना मध्य केवल ६ हजार २२२ जना मात्रै संस्थागत आईसोलेसनमा रहेका छन् । यो सबै प्रदेशमा गरेर हो । तर होम आईसोलेसनमा बस्नेको संख्या २९ हजार १९७ जना रहेको छ । यो भनेको ८२.४३ प्रतिशत हो । यो प्रतिशत कुल सक्रिय संक्रमितको बाट हो ।
नेपाल अहिले विश्वभर कोरोना संक्रमण संख्याको हिशाबले ३४ औं नम्बरमा पुगिसकेको छ । नेपालमा अहिले सम्म एक लाख ९४ हजार ४६३ संक्रमित पुगिसकेको छ । ११ सय ८ जनाले ज्यान गुमाईसकेका छन् भने एक लाख ५७ हजार ९२६ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य मापदण्डको पालना, संक्रमितको उपचार र व्यवस्थापन नहुँदा र नागरिकलाई राहत र रोजगारीको अभाव हुँदा पनि कोरोना फैलन ठूलो मद्धत पुगेको छ ।
शुरुशुरुमा कोरोना संक्रमित भेटिनासाथ आईसोलेसनमा राख्न एम्बुलेन्स लिएर घरमा पुग्ने सरकार अहिले संक्रमित भयो भन्ने सन्देश मोबाईलमा पठाए पछि चुपचाप बस्ने गरेको एक संक्रमित बताउछन् ।
तर यसरी धेरै संक्रमित घरमै बस्दा सामाजिक दुरीको पालना, स्वास्थ्य मापदण्डहरु पालना गर्न सकेमा सहजै हुने तर ती कुराहरु अभाव भएर संक्रमित आफू खुसी हिँडडुल गर्ने, काममा जाने जस्ता गतिविधि भएमा भने जोखिम बढ्न सक्ने विज्ञहरुले चेतावनी दिदै आएका छन् ।