रसुवागढी , १८ असोज ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको तातोपानी नाका र रसुवागढी नाका आइतबारबाट सञ्चालनमा आएको छ ।
आइतबार दुबै नाका हुदै नेपालीहरुको रोकिएको सिमित मात्रामा सामान भित्रिएको रसुवागढी र तातोपानी दुबै भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी नाकाबाट आज ५ ट्रेलर सामान नेपाल भित्रिएको रसुवागढी नाकाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । खड्काका अनुसार एक ट्रेलर सामान बराबर दुइ नेपाली कन्टेनर हुन्छ ।
यस्तै तातोपानी नाकाबाट पनि नेपालीहरुको सामान भित्रीएको तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।
नेपाली श्रमिकलाई कोरोना संक्रमण भएपछि भदौ १५ गतेदेखि रसुवागढी र बाढी तथा पहिरोका कारण असार ४ गतेदेखि तातोपानी नाका अवरुद्ध भएको थियो ।
नेपालीहरुको लत्ता कपडा , भाडाकुडा लगायतका सामानहरु नाकामा अड्किएर बसेको थियो ।