भदौ १७ काठमाण्डौं । सञ्चार मन्त्री हुँदा गोकुल प्रसाद बास्कोटाले सेक्युरीटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा ७० करोड मोलमोलाई गरेको अडियो सार्वजनिक गरेर चर्चामा आएका विजय प्रकाश मिश्रलाई सात दिन भित्र हाजिर हुन अख्तियारले आज सूचना निकालेको छ ।
अख्तियारले केही बुझ्नु पर्ने भएकाले अख्तियारमा आएर अनुसन्धान गर्ने अधिकृतसगँ सम्पर्क गर्न अन्यथा कानुन बमोजिम हुने सूचना निकालेको छ ।
केही सञ्चार माध्यमले मिश्र जापान भागेको भनेर समाचार समेत लेखे पछि मिश्रले आज एक विज्ञप्ति जारी गरी आफू नभागेको स्पष्ट पारेका छन् ।
उनले कुनै व्यक्ति राज्य भन्दा माथि नहुने भन्दै अख्तियारमा आफूले अडियोको डिभाईस बुझाउनु पर्ने भएकाले सो डिभाईस लिन आफू जापान गएको र त्यो लिएर आफू नेपाल आउन लागेको बताएका छन् ।
उनले नेपाल आउने फ्लाईट समेत निश्चित भईसकेको बताए । बास्कोटाको अडियो उनले सार्वजनिक गरे पछि ओलीको किचन क्याबिनेट भित्र रहेको मानिने बास्कोटाले राजीनामा दिएका थिए ।
उनले आफू भागेको प्रोपोगण्डा न्यायलाई बिचलित पार्ने मुद्धालाई अन्तै मोड्ने प्रपञ्च भएको दाबी गर्दै उनले अख्तियारलाई सहयोग गर्ने बताएका छन् ।

