काठमाडौं, १ साउन । सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय आपराधीक समूहबीच गोलि हानाहान भएको छ। साे क्रममा दुइ जना भारतीय घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार प्रहरीले २ जनालाई गोली हानी नियन्त्रणमा लिएको छ। हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन देवानगन्ज-३ पुगेको तर आपराधीक समुहमा रहेकाहरुले फायरिङ गरेको थियो ।
प्रहरी पुग्नासाथ भारतीयको समूह फायरिङ गर्दै दशगजातर्फ जान खोजेपछि नियन्त्रणमा लिन फायरिङ गरेको प्रहरीले जनाएको छ। पिन्टु र राजेश भनिने दुई जनालाई घाइते अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
समूहका अन्य पनि घाइते हुन सक्ने भन्दै प्रहरीले उनिहरुको खोजी गरिरहेको छ। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको छ।
यस्तो छ प्रहरीले पठाएको समाचारः
सुनसरीको देवानगंज गाउँपालिका-३ पानीट्याङकीबाट आटोमटिक पेस्तोल सहित २ जना मानिस पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका-२ का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादवलाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले ३ जना भारतिय नागरीक सहित २ वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी फायर खोलेकोमा प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाईते भएको तथा अन्य ३ जना भारत तर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले USA अटोमटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थान र One Test साईन मोटरसाईकल १ थान बरामद गरेको छ । घाईते भएका दुबै यादवद्धयको बि.पी. कोईराला स्वसास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।