काठमाडाैं, १९ असार । कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार/सञ्चारकर्मीले आज बबरमहलमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले‘मेरा सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौं मुनाफा खोई’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकारको बिचल्ली’, ‘मालिक भोज र तडकभडकमा पत्रकार भोकै सडकमा’ ‘पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन गरौँ’, ‘कोरोनामा पहिलो प्रहार पत्रकारमाथि किन ?’, ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षा गर’ र ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन् ।
सो अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुको सट्टा उल्टै काम गरिरहेका श्रमजीवी पत्रकारलाई निष्काशन गरेर अन्याय गरेको र त्यसको विरुद्धमा कडाभन्दा कडा सङ्घर्षका लागि सबैलाई आह्वान गर्नुभयो ।
महासंघको आयोजनामा शुक्रबार दिउँसो बबरमहलमा जागिरबाट निकालिएका पत्रकार र पत्रकारका विभिन्न १३ संगठनहरूले प्रदर्शन गरेको पत्रकार अध्यक्ष आचार्यले जानकारी दिनुभयाे ।

महासचिव रमेश विष्टले मिडिया हाउसले कोरोना महामारीको बहाना बनाउँदै धमाधम पत्रकारलाई निष्काशन गर्ने काम गरेकोमा आपत्ति जनाउँदै पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले चरणबद्ध आन्दोलन शुरु गर्ने बताउनुभयो ।
महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो ।

प्रेस सङ्गठनका संयोजक महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने बताउनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले श्रमजीवी पत्रकारका लागि आफ्नो संगठनले पटकपटक आवाज उठाउँदै आएको भन्दै मिडियाका मालिकहरुले नाफा कमाउँदा महल बनाउने, घाटाको भागिदार श्रमजीवी पत्रकार हुनुपर्ने व्यवस्था खारेजी हुनुपर्ने भन्दै मिडियाका मालिकहरुलाई पत्रकारको श्रमको पारिश्रमिक दिन माग गर्नुभयो ।
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले मिडियाका मालिकले पत्रकारको रोजीरोटी खोसेको भन्दै हिजो उहाँहरुले मिडिया खोल्दा कति सम्पति थियो, आज कति छ, त्यसको छानविन हुनुपर्ने धारणा राख्नुभयो ।

जनपत्रकार संगठनकी सचिव सिर्जना तिम्सिनाले मिडिया मालिकहरुले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटका बेला पत्रकारको घाउमा नुन छर्ने काम इतिहासदेखि भइरहेको भन्दै त्यसका बिरुद्ध कडा आन्दोलन आवश्यक रहेको बताउनुभयो ।
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले जनतालाई स–ुसूचित गर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिएका पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताउनुभयो ।
प्रगतिशील पत्रकार संघ नेपालका पूर्वअध्यक्ष नारायण शर्माले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि बषौंदेखि आवाज उठाइरहेको अवस्थामा आज त्यही मुद्दामा सबै पत्रकारको साझा मुद्दाका रुपमा लिएर आन्दोलन भइरहेकोमा त्यसमा आफ्ना संगठनको पूर्ण साथ रहने बताउनुभयो ।
लकडाउन सुरु भएसँगै कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नयाँ पत्रिका, उज्यालो रेडियोसहित नाम चलेका सन्चार माध्यमहरुले पत्रकार तथा कर्मचारीलाई निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिने र दिएपनि आधा मात्र दिनेजस्ता गतिविधी बढेको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो ।
लकडाउनका कारण देखाएर कान्तिपुर मिडिया ग्रुपले नारी, साप्ताहिक र नेपाल बन्द गरेको छ भने नागरिकले अंग्रेजी संस्करणको रिपब्लिका बन्द गरेको छ ।



