कुवेतमा नेपाल फर्कन पाउने आशमा ५३ दिनदेखि अलपत्र २ हजार बढी नेपाली , कहिले ल्याउला सरकारले ?

कुवेतमा नेपाल फर्कन पाउने आशमा ५३ दिनदेखि अलपत्र २ हजार बढी नेपाली , कहिले ल्याउला सरकारले ?

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौँ असार ४ । कुवेतको अब्दल्ली क्याम्पमा बसेको ५३ दिन बित्दा पनि ताप्लेजुङका टासी शेर्पालाई स्वदेश फिर्ने पालो कहिले आइपुग्छ भन्ने पत्तो छैन । इराकको सीमामा रहेको अब्दल्ली क्याम्पमा उनीजस्तै स्वदेश फिर्ने प्रतीक्षामा ४ सय ६७ जना छन् ।

उनीहरूलाई कुवेत सरकारले नेपाल पठाउने भन्दै वैशाख १४ गते अब्दल्ली क्याम्पमा लगेर राखेको थियो । ‘कुवेतले भिसा नभएकालाई आफ्नै खर्चमा पठाइदिने भनेपछि दंग पर्‍यौं तर कहिले पठाइदिन्छ भन्ने खबर छैन, साह्रै पीडा महसुस भइरहेको छ,’ उनले भने, ‘भोलि, पर्सि भन्दै दिन गनिरहेका छौं । हाम्रा लागि आउने जहाजको बाटो हेरिरहेका छौं ।’

भिसाविहीन भएका र रोजगारदाता छाडेर गएका २ हजार ९ सय ९१ जनालाई २० वटा अलग–अलग क्याम्पमा राखिएकामा बुधबारसमेत गरी चारवटा उडानमार्फत् ५ सय ९८ जना महिलालाई नेपाल पठाइएको छ । क्याम्पमा अब १ हजार ६ सय ८८ जना पुरुष र ७ सय ५ महिला गरी २ हजार ३ सय ९३ छन् । कुवेतले यस अवधिमा बुधबारको समेत गरी ४ वटा उडानमार्फत ५ सय ९८ जना महिलालाई मात्रै नेपाल पठाएको छ । कुवेतले माग गरेअनुसारको उद्धार उडान नपाउँदा क्याम्पमा बसेकाहरू झन् पीडित बन्दै गएका छन् । कुवेतले दैनिक तीन वटासम्म उडानको अनुमति माग गरे पनि सरकारले नियमित उडान अनुमति दिएको छैन । पहिलो पटक एकै दिन जेठ २९ गते दुईवटा, जेठ ३० गते एउटा उडान गरेपछि तेस्रोपटक पाँच दिनपछि अनुमति पाएको थियो ।

‘नेपाल सरकार त हाम्रो अभिभावक हो तर गल्लीको कुकुर जस्तो बनाइदियो । विपद्मा परेको नागरिकलाई गर्नुपर्ने व्यवहार देखाएन,’ शेर्पाले भने, ‘दूतावासले पनि लैजाने प्रक्रियाबारे स्पष्ट सूचना दिएको छैन ।’

उनीहरूलाई उराठ मरुभूमिबीचको एउटा पुरानो अस्थायी टहरालाई क्याम्प बनाएर राखिएको छ । सहरभित्रै रहेकालाई विभिन्न स्कुलमा राखिएको छ । भित्र बसेका कसैको पनि कोरोना परीक्षण गरिएको छैन । म्याग्दीका गजेन्द्र परियारले क्याम्पमा नराखेको भए यति धेरै मानसिक तनाव नहुने बताए । ‘घर जान पाइन्छ भनेर ५ महिनाको तलब माया मार्‍यौं, हामीलाई समयमै लैजानु थिएन भने किन यस्तो कचरामा ल्याएर कोचेर राखिदिएको हो रु’ उनले भने, ‘यहाँभन्दा जुन ठाउँमा बसेका थियौं, त्यहीँ सुरक्षित थियौं । कतै बिरामी भइने हो कि रु यतै मरिने पो हो कि भन्ने डर लाग्छ ।’

क्याम्पमा बसेकाहरूका अनुसार नुहाउन, हात धुनसमेत राम्रो व्यवस्था छैन । ‘बिरामी भइसकेकालाई पनि उचित उपचारको प्रबन्ध छैन, रुघाखोकी लाग्यो भने औषधि दिइँदैन,’ उनले भने, ‘हामी मरिसकेपछि नेपाल पठाउने सोचमा सरकार छ कि जस्तो पनि लाग्छ ।’

धरानका विक्रम मोक्तानले आफूहरूले पाइरहेको अप्ठ्यारोलाई कुवेत र नेपालले बुझिदिनुपर्ने बताए । ‘चिसो खानाले बिरामी भएर बस्नुभन्दा हामी घरजग्गा बेचेर भए पनि टिकट खर्च आफैं मगाउँछौं, जहाज पठाइदिनुस्,’ उनले भने ।

७ महिनादेखि कुवेतमा कार्यरत धरानकै गोविन्द परियारले केही दिनदेखि आफ्नो पेट र टाउको लगातार दुखिरहेको बताए । ‘तीन महिनाको तलब पाएको छैन । भिसा पनि लागेको छैन । नेपाल पठाउने भनेपछि आवेदन दिएको थिएँ,’ उनले भने, ‘यत्रो दिन भइसक्यो । पठाउने सुरसार छैन ।’ उनले कुवेत आउँदा तिरेको १ लाख ७० हजार रुपैयाँ ऋण पनि तिरिनसकेको बताए ।

‘हामी सुरक्षा गार्ड कम्पनीमा आएका हौं, आफैं इलिगल बनेको होइन । भिसा लाग्छ, आज लाग्छ, भोलि नै लाग्छ भनेर कम्पनीले भन्दै गयो । समयमा कम्पनीले भिसा लगाउन नसकेपछि हामी इलिगल बन्नुपर्‍यो,’ मोरङका योगेन्द्र पाण्डेले भने, ‘ऋण पनि तिर्न सकेको छैन । हामी पनि गरिबका छोरा हौं । कतिपय साथी डिप्रेसनमा जान थालिसके ।’

कुवेतले अस्थायी क्याम्पमा रहेका महिलालाई मात्रै उद्धार गरेर पठाइरहेको छ । बुधबार जजिरा एयरलाइन्समार्फत उद्धार गरेर १५० जना महिलालाई पठाइएको थियो ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले आवश्यकताअनुसार उडान तालिका रहेको बताए । ‘कुवेतले एकमुष्ट रूपमा उडान तालिकासहित पठाएको छ, सरकारले अनुमति दिएबमोजिम उडान भरिरहेको छ । अहिले महिलालाई प्राथमिकता दिइएको छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी