पोखरा, २ जेठ । “भूकम्पले घर भत्कायो, अहिले छेउमै छाप्रोको बास भएको छ । डोकोमा तरकारी बेचेर जेनतेन गुजारा चलेको थियो । त्यही पनि बन्द भयो ।” जङ्गलमा भेटिनुभएकी एक वृद्धको दुखेसो हो यो ।
रुपातालको सिनारस्थित तालबेँसीको जङ्गलमा लौरोको सहायतामा डोको बोकेको अवस्थामा भेटिनुभएकी ६५ वर्षीया विष्णुमाया विश्वकर्मा जीविकोपाजर्नका लागि निउरो खोज्न जङ्गल जानुभएको हो ।
बुढेसकालको शरीर, सेपिलो पाखो र चिप्लो खोला खोल्सामा पाइने निउरो टिपेर गाउँ बस्तीमा बिक्री गर्ने र आएको पैसाले दाल, चामललगायत आवश्यक सामग्री खरिद गरी छाक टार्नु उहाँको यतिखेर दैनिकी नै बनेको छ ।
कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीले उहाँको दैनिकीमा पनि ठूलो असर पु¥याएको छ ।
“सरकारले दिएको राहत खोज्नुभन्दा वनको निउरो टिपेर छाक टार्न मन पर्छ”, उहाँले भन्नुभयो, “यतिखेर जङ्गलबाट टिपेर ल्याएको निउरो बिक्री गरेर आएको पैसाले दुःख सुख खान पुगेको छ ।”
विष्णुमाया जस्तै धेरै ज्येष्ठ नागरिक तथा असहायहरु बन्दाबन्दीका कारण यतिखेर ठूलो मारको अनुभूति गरिरहेका छन् ।
बन्दाबन्दीअघि खरिद गरेको तरकारी डोकामा बोकेर स्थानीय बजारमा बिक्री गर्ने गरेको अनुभव सुनाउँदै उहाँले पछिल्लो समयमा भने विगतको दैनिकीको विकल्प खोज्न बाध्य भएको बताउनुभयो ।
विषेशगरी यो समयमा जङ्गलका खोला खोल्सामा प्रशस्त पानी निउरो पाइने भए पनि यसपालि भने कम पाइने गरेको बताउँदै उहाँले भन्नुभयो, “अन्यत्रको तुलनामा तालबेँसी खोलाको छेउछाउमा निउरो बढी पाइन्छ ।”
दिनभरि जङ्गलमा निउरो टिप्दा डोको भरिन्छ, मुठा बनाउँदा १० देखि १५ मुठा हुने गरेको सुनाउँदै उहाँले पचघैयास्थित घरमा लगेपछि छिमेकमै मुठाको रु ५० मा बिक्री हुने गरेको छ ।
बुढेसकालको ज्यानलाई जोखिममा राखेर टिपेर घर घरमा निउरो लिएर जाँदा धेरैले त खुशी भएर लिनुहुन्छ, कोही कोहीले त किनेको हैन सित्तैमा आएको हो घटाएर देउभन्दा साह्रैै दुःख लाग्ने गरेको उहाँको अनुभूति छ ।
दुई छोरा र दुई छोरी छन्, आवश्यक पर्दा हेर्दै आएका छन्, हातखुट्टा चलिन्जेल बस्न मन लाग्दैन त्यसैले जङ्गलमा निउरो खोज्न आएकी हुँ उहाँले भन्नुभयो ।
बन्दाबन्दीसँगै साइकल, ठेला र भ्यानमा ल्याइएको तरकारीभन्दा विशुद्ध अग्र्यानिक जङ्गलमा उत्पादित पानी निउरो, कालो निउरो, जलुका, सिप्लिकानजस्ता विभिन्न जङ्गलमा उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।
ग्रामीण क्षेत्रमा त आफ्नो जीविकोपार्जनका लागि मौसमी तरकारी खेती गर्ने गरे पनि बजारमा अधिकांश उपभोक्ता किनेर खाने गरे पनि यतिखेर भने करेसाबारी तथा आसपासमा रहेका वर्षौंदेखि बाँझिएका खाली घडेरी खनजोत गरी तरकारीखेती गर्ने लहर नै चलेको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै भारतबाट आएको तरकारी तथा फलफूलको प्रयोग घटाउँदै गएका उपभोक्ताले स्थानीय उत्पादनलाई महत्व दिने गरेका छन् ।
बन्दाबन्दीसँगै यतिखेर विष्णुमायाजस्ता गाउँ तथा शहरका कतिपय महिलाको समूहमा जङ्गलमा तरकारी खोज्नका लागि नै जाने गरेका छन् । पोखरा बजारको भित्री भागमा महिला बाटोको छेउछाउमा झारभित्र तरकारी खोजिरहेको दृश्य प्रशस्त भेटिन्छन् ।