आज फेरि मलाई किन,
लेख्न मन लाग्यो।
मनभित्रै किन होला
अन्तरात्मा जाग्यो।
केही लेखौँ केही बोलौ,
लागिहाल्यो मलाई।
लेख्नलागे केही कुरा
अन्तर्दृष्टी खुलाई।
संसारका महावली ,
महाधनीहरु,
यति कमजोर किन भको,
हे पौरखिहरु।
तिमि भन्ने गर्थ्यौं सधैँ,
हामी गर्न सक्छौं ।
तर आज किन तिमी,
लल्याक लुलुक भछौ।
होस किन गुमाएको,
खुट्टा कपाएको।
आफ्नैसँग आफैंसंग
किन डराएको।
तिमिलाई थाहा छैन,
एकपटक हार्नु।
बुझि हेर संसारलाई
यो हो थकाइ मार्नु।
उठ जाग एकपटक
दिव्य दृष्टि खोल।
तिमी सक्छौ बैरी मार्न
धैर्यसाथ बोल।
तेस्रो नेत्र ॐका र हो
सत्य रजो तम।
जगाउ भित्री ऊर्जा विवेक
एकपटक गम।
यस्ता धेरै समस्यालाई
मानवले जिते।
कोरोनाको समस्या नि
जान्छ तिमीले आँटे।
सोच हेर काम गर,
दिन रात खट।
प्रकृति र पुरुषको
खेल माथि डट।
हामी सबै बुझ्छौँ यहाँ
पचिस् तत्व लाई
मानिसले खेलाएका
संयोग वियोग लाई ।
विज्ञानलाई धक्का लाग्न
दिन हुन्न कसै।
बिना औषधीको रोग
हुँदै हुन्न कसै।
हरेक अक्षर मन्त्र हो यो
वनस्पति दबाइ।
मसलाको क्षेप्यास्त्रले
जिवाणुलाई भगाई ।
नमस्कारको तिरस्कार
गर्न हुन्न अब।
विषाणु नि भाग्छ हेर
नियम माने सब।
चुम्बन र अलिंगनलाई
केहीदिन थाति राख्।
प्रकृतिको लीलालाई
एकपटक चाख।
घरलाई पनि न्याय देऊ
प्रकृतिलाई पनि।
देऊ न्याय सबैलाई
हे मनका धनि।
अलिकति घाटा हुन्छ
सन्तुलन बढ्छ।
रोग शोक भय सँग
लड्ने शक्ति बढ्छ।
तिमि हामी उनी भन्दा
प्रकृति छन् ज्ञानी।
किन , के ले , कसरी होरु
हामी अभिमानी।
जान्दा जान्दै पनि हाम्रो
चुक्कुल खुस्की हाल्छ।
त्यसैले त प्रकृतिले
आफ्नो जाल फाल्छ।
जे होस् अब ढीलो भयो
तात्ने बेला भयो
मनभित्रको तीतो पिरो
वैमनस्य गयो।
मन चित्त अहंकार
बुझ्ने बेला भयो।
बुद्धि भन्दा पनि पर
आत्मा तत्व हुन्छ।
बुझ्ने मान्छे साबुनले
सधैँ हात धुन्छ।
अनुहार नै छोप्न पर्ने
मास्कको अभ्यास गरयौ।
विषाणुको क्षमताको
आकलन नि गरयौ।
अब उठ हिम्मत साथ
हुन्न घरमा बसी।
अर्थतन्त्र उठाउन,
लाग कम्बर कसी।
स्कूल खोल, अफिस खोल,
खोल सबै तिर।
मुस्काएको घाम जुन,
नमान कत्ति पिर।
सबै खोल सुस्त सुस्त
मन पनि खोल
आफन्त र छिमेक सँग
मीठो मीठो बोल।
प्रकृति ती सारैअन्धी,
तर बलशाली।
पुरुष तत्व प्रकाशमय।
लङ्गडो छ खाली।
दुवै मिली छलद्वारा
अंकमाल हाली।
यो सृष्टिलाई चलाउँछन्
सबै बसमा पारी।
हामी मान्छे खेलौना छौ,
बस्छौं वारी पारी।
केही छैन खानालाई
बाँझो खेत बारी।
यही हो रित संसारको
बुद्ध दुःख भन्छन्।
निर्वाण मोक्ष जे भने नि
यसकै लागि मर्छन्।
सारा जीवन भ्रम भित्र
अन्धकार भित्र
बुझ्न खोज्दा पनि गार्हो
साच्चै हो यो बिचित्र।
तर पनि पूर्णताको मन्त्र
हामी संग।
यसलाई कसै गरी
गर्न हुन्न भंग।
शुद्धता र पवित्रता,
पनि हाम्रो साथमा ।
जिम्मेवारी इमान्दारी
समझदारी माथमा।
बुझि सबै उठ जाग
अल्छी पन त्याग
बाधा सबै पन्छाएर
उन्नतिमा लाग।
ओम ३।