काठमाडौँ, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा बिहिवार राति निधन भएको छ ।
अल्जाइमर्स र पार्किन्सन्सबाट पीडित रानुदेवीकाे सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार राति १०: ५५ मा निधन भएको र र राति नै अन्त्येष्टि गरिएकाे उनकाे वृत्तचित्र ‘५६ वर्षपछि…’ बनाएका गायक तथा संगीतकार सुमित खड्काले पुष्टि गरे ।
रानुदेवीलाई बिहीबार नै अस्पताल लगिएको र केहीबेरमा उनको निधन भएको जनाइएकाे छ ।
रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहँदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् ।
२००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन् । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायत गीत चर्चित छन् । तारिणीप्रसादकै शब्द/संगीतमा कलकत्तामा पनि उनको गीत रेकर्ड भएको थियो ।
रानुदेवी नेपाली राजनीतिकी आदर्श व्यक्तित्व नोना कोइरालाकी बहिनी हुन् । इतिहासमा स्नातकाेत्तर गरेकी रानुदेवीले २०२३ देखि २०५३ सालसम्म अध्यापन गरेकी थिइन् । २००६ सालमै उनको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो । त्यति बेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनका एक छोरा र दुई छोरी छन् ।
छाेरा र जेठी छाेरी अमेरिकामा बस्छन् । उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।