धेरै मान्छे मन्त्री भए पछि सुकिला लुगा, गाडी, पिएसओ, भिआईपी व्यवस्थापनमा हुन्छन् । यता उति मिलाउने , राजनीतिक गतिविधि गर्ने , दौडधुप गरेर जीवन विताईरहेका छन् ।
तर लोकेन्द्र विष्टको फरक कहानी छ । उनी जनयुद्ध लडेर आए , मन्त्री पनि भए तर आजको दिनमा उनी एउटा कृषकको रुपमा नमुना श्रमिकको जीवन विताईरहेका छन् ।
उनी पूर्व मन्त्रीको हैसियतमा पिएसओ, आसोपासे बोकेर हैन डोकोमा माटो र ढुंगाको भारी बोकेर श्रम गरीरहेका छन् ।
पर्यटन मन्त्रीबाट पद छुटे पछि उनी कालोधानको खेतीमा लागेका थिए । तर अहिले दागंमा ६६ कट्ठा जमिन लिएर ड्रागन फ्रुट लगायतका कृषि उद्यममा लागेका छन् ।
भ्रष्ट, कमिसनखोर भएकै कारणले होला धेरै नेताहरुलाई जनताले रुचाएको पाईदैन ।
पहिला प्रधानमन्त्री भएका स्वर्गीय मरीचमान श्रेष्ठ पनि गाईपालन लगायतका काममा प्रधानमन्त्रीबाट हटे पछि लागेको कुरा थियो । जसलाई नमुनाकै रुपमा लिईन्थ्यो ।
तर अहिले पैसा र शक्तिको राजनीति बढे यता मान्छे जसरी हुन्छ राजनीतिक पहुँच र हैसियत बनाउने लाभको पद र नाफा कमाउनेतिर देखिन्छ । जसबाट केही प्रतिशत कार्यकर्ता र निर्बाचनका बेला बाँडेर फेरी अर्को निर्वाचन जीत्न लागि पर्दछन् । यसै कारण देशको विकास समेत पछौटे अवस्थामा छ ।

यस्तो विकृति बढेका बेला विष्टले मन्त्री र अन्य सुविधा फेरी पनि पाउन सक्ने संभावना छाडेर कृषि पेशा अंगालेका छन् । श्रम रोजेका छन् । उनको यो उदाहरणीय कामलाई सम्मान गर्नै पर्दछ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा ।
अब हेरौ जनयुद्ध देखि मन्त्री हुदै कृषक सम्म बनेका विष्टको कहानी उनैले लेखेको यो संस्मरणात्मक लेखमा:
१९ जनाको केन्द्रीय समिति रहेको पार्टीले जनयुद्धमा जाने निर्णय गरेको थियो । सो निर्णयको भावनालाई पकडदै तिव्र तयारीको क्रममा म गिरपतार भएँ । तत्कालिन सत्ताको चरम यातना खेप्दै आफु जेलमा रहेको १८ महिना पछि २०५२ फागन १ गते जनयुद्ध शुरु भयो । बाहिर शुरु भएको जनयुद्धको धमाका जेलका चार पर्खालभित्र पनि भूकम्पको रुपमा आयो । गर्वले छाती फुल्यो ! शीर हिमाल झै ठाडो भयो । तर केही समयभित्र नै दमनचक्र चल्यो । शारीरिक मानसिक यातना शुरु भयो । तैपनि जीवनको पर्वाह नगरी क्रान्तिको हितार्थ अडिग रहियो । झुक्तै नझुक्ने शीर लिएर लडियो जेलको भिन्नै युद्धमोर्चामा । जीत पार्टी, विचार र वर्गकै भयो ।
वर्गीय शासन शोषणको अन्त्य गरेर सर्वहारा वर्गको अर्थात् श्रमजीवि किसान मजदुरको जनवादी शासनसत्ता स्थापनार्थ भीषण दशबर्षे जनयुद्ध भयो । हजारौ योद्धा र जनताको शहादत भयो । सयौं र हजारौं घाइते अपाङग र बेपत्ता पारिन पुगे । विद्रोह र प्रतिविद्रोहको चपेटामा सारा जनता परे, पुरानो सत्ता एक पछि अर्को गर्दै हार्दै गयो । अन्तमा राजनीतिक र भौगोलिक रुपमा माओवाद विजयको संघारमा पुग्यो । केवल सैन्य रुपमा मात्र केन्द्रीय सत्ता र शक्ति बाँकी रहयो । त्यसमा पनि न उसले निर्णायक रुपमा जित्न सक्ने नत विद्रोही शक्तिले नै जस्तो भयो । यसै वेला रुकुमको खारामा रहेको तत्कालीन शाही सेनाको व्यारेकमा भएको दोस्रो आक्रमणमा भएको हारबाट विद्रोही शक्तिको मूल नेतृत्व हतोत्साहित भयो । आतंकित मनोदशाकासाथ तथाकथित शान्ति प्रक्रियाको नाटक मञ्चन गर्नतिर लाग्यो । पराजित र आतंकित मनस्थिति बोकेर १२ बुँदे सहमति हुँदै विस्तृत शान्ति सम्झौता तिर मूल नेतृत्व कुद्यो ।
त्यसरी जाँदा निरपेक्ष सम्झौताको रुपमा गइयो । करिव करिव निःशर्त जस्तो । द्वेध चारित्रिक मूल नेतृत्वले बाहिर एउटा भन्यो तर भित्र अर्कै गरयो । भन्ने गरेको त के थियो भने दश बर्षे जनयुद्धका उपलब्धीहरुको रक्षा गर्दै शान्तिपूर्ण रुपमा क्रान्ति सम्पन्न गर्ने । त्यो नभए पुनः भिन्न रुपमा सशस्त्र रुपमै क्रान्ति सम्पन्न गर्ने भन्ने थियो । तर यो सारा कुराहरु हात्तीका देखाउने दाँत मात्र सावित भए । अन्ततः पार्टी हेडक्वार्टर नै क्षत विक्षत हुन पुग्यो, टुटफुट र विभाजनबाट । गुट,उपगुट र झुण्डहरुवाट । निहित स्वार्थका चक्रव्यूहहरुवाट कहिल्यै नउम्किने गरी घेरिएर । पाटी,क्रान्ति, वर्ग, विचार , देश र जनताको भन्दा चिन्ता र चिन्तन अन्तै हुनथाल्यो । त्यसकारण त्यो महान जनयुद्धवाट गएिको आशा अपेक्षा पूरा भएन । मूल नेतृत्वको भयानक धोका र गद्धारीका कारण ।
क्रान्तिकारी र भ्रान्तिकारीहरु पनि झन् चिनियो । फाटेको जालले जति छेक्न खोजे पनि धेरै कुराहरु छर्लङ्गै देखियो । बुझियो, देश त स्वर्ग नै हो । तर, नर्क सरी बन्दैछ । रोक्ने कसरी रु फेरि अर्को असली क्रान्तिले सम्भव होला शायद । तर त्यो कहिले रु त्यो पनि निश्चित छैन । यसरी स्वर्गीय सपनाहरुको चिहानभित्रबाट आँसुका बलिद्रधारा बगाउँदै बाँचेकाछौं हामी !
पार्टीले दिएको जिम्मेवारी पूरा गर्न दुई पटक गरी जम्मा ६ महिना १३ दिन मात्र मन्त्री भइयो ।

कारण चरम राजनीतिक अस्थिरता थियो । काम गर्नु त कता हो कता त्यो समय जानपहिचानको लागि पनि अपुग रहयो । तैपनि झल्याक झुलुक देशको चरित्र आयो । सरकार, पार्टी र नेता चलाउने शक्ति चिनियो । स्थायी सरकार कहलिएको कर्मचारीतन्त्र चिनियो । दलालहरुको दलबल चिनियो । देश र जनताका खाँटी दुश्मनहरु चिनियो । क्रान्तिकारी र भ्रान्तिकारीहरु पनि झन् चिनियो । फाटेको जालले जति छेक्न खोजे पनि धेरै कुराहरु छर्लङ्गै देखियो । बुझियो, देश त स्वर्ग नै हो । तर, नर्क सरी बन्दैछ । रोक्ने कसरी रु फेरि अर्को असली क्रान्तिले सम्भव होला शायद । तर त्यो कहिले रु त्यो पनि निश्चित छैन । यसरी स्वर्गीय सपनाहरुको चिहानभित्रबाट आँसुका बलिद्रधारा बगाउँदै बाँचेकाछौं हामी !
राजनीतिबाट अवकास: कृषिमा प्रवेश
महंगो राजनीति, जटिल राजनीति, फोहोरी राजनीति, अपराधीकरण बन्दै गएको ÷गरेको राजनीति र आजीवनको पेशा व्यवसाय, ठेक्का पट्ठा, पैतृक सम्पति बनाइएको राजनीतिबाट वाक्क दिक्क भएर स्वेच्छिक अवकाशमा निस्किएर कृषि कर्ममा लागियो । काभ्रेको भकुण्डेबेसीमा कालो धान (चामल कालो) को खेति हुँदै अहिले ड्रागन फ्रुटको खेतिसम्म आउँदा साना ठूला थुप्रै ज्ञान अनुभव संगालियो । कृषि दुःखारी पेशा हो । तर, स्वाभिमान स्वावलम्वन र सन्तुष्टिको पेशा हो । साथै ताजगी र स्वस्थताको पनि । “न भोक न भकारी” । श्रमप्रिय सँस्कृतिका हिमायतीहरुले कृषिमै आफनो जीवन र भविष्य देख्दछन । केही काम नगरी सजिलरी , छिट्टै र धेरै पैसा कमाउने गन्दाखाले धन्दा भन्दा माटोको बासनासँगै उचो शीर पारेर बाँच्नु हजार गुणा उत्तम छ । अहिले हाम्रो ड्रागन फ्रुट फर्म विस्तारै कृषि पर्यटकीय गन्तव्य जस्तो बन्दैछ । हामी तीन जनाको साझेदारीमा ६६ कट्ठा जग्गा १५ बर्षका लागि भाडामा लिएर थालिएको फर्ममा ७००० बिरुवा लगाएका छौं । पाँच बर्षमा लगानी उठाएर १० बर्षसम्म मुनाफा लिने सोच छ हाम्रो । ड्रागन फ्रुट सिउडी प्रजातिको रसिलो, स्वादिलो र बहुगुणकारी फल हो ।

यसको मुख्य उत्पत्ति स्थल मेक्सिको हो । भियतनाम, कम्बोडिया, मलेसिया, थाइल्याण्ड, चीन, भारत र नेपाल पनि अव ड्रागन फ्रुट उत्पादन गर्ने देशमा पर्दछन । यो फल औषधीय महत्व र पोषण तत्वले भरपुर मानिन्छ । विश्वका २० वटा उत्कृष्ट फलको शीर्ष नम्वरमा यो फल पर्दछ । यसको बजार स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा बनाउन सकिन्छ ।
कृषि दुःखारी पेशा हो । तर, स्वाभिमान स्वावलम्वन र सन्तुष्टिको पेशा हो । साथै ताजगी र स्वस्थताको पनि । “न भोक न भकारी” । श्रमप्रिय सँस्कृतिका हिमायतीहरुले कृषिमै आफनो जीवन र भविष्य देख्दछन् ।
जाम,जुस,जेली,फेसवास,केक,आइसक्रिम ,पेय पदार्थ (वाइन,हिस्की,ब्राण्डी) आदी पनि यस फलबाट बनाउन सकिन्छ । यस हिसावले कृषि—उद्योगतिर पनि जान सकिन्छ । अब हाम्रो फर्ममा आगामी असार–साउन–भदौमा ताजा ड्रागन फल पशस्तै रुपमा खान पाइने भएको छ । यसको खेती कुनै पनि सिजनमा समुद्र सतहबाट १५०० मिटरभित्र गर्न सकिन्छ । पानी नजम्ने तर पानी लाग्ने,झेप–छाँया नपर्ने अर्थात पाहरिलो जग्गामा यसको खेती गर्न सकिन्छ । हामी यो व्यवसायिक खेतिबाट प्रसन्न छौं ।

मानवजाति र विश्व इतिहासमा अग्रणी भूमिका निर्वाह गर्ने युवाहरु युग र इतिहासका धुकधुकी हुन । उनीहरु आफै पनि चेतना, नयाँ चिज र विचारका सन्देश बाहक हुन । तर कतिपय हदसम्म युवाहरुले पनि केही कुराहरु सिक्नु पर्ने, ज्ञान अनुभव ग्रहण गर्नुपर्ने हुन्छ । यतिखेर हामी र हाम्रा युवाहरुले निम्न कुराहरुमा विशेष ध्यान दिन जरुरी छ :
१. सही विचार राजनीति ग्रहण गर्दै या विकास गर्दै समीक्षात्मक रुपमा अघि बढ्नु पर्ने देखिन्छ ।
२. राजनीति बुझने , समाज बुझने तर राजनीतिलाई आजीवनको कमाइखाने भाँडो नवनाउने ।
३. देश,समाज र जीवनलाई विगत, वर्तमान र भविष्यका आँखाले हेर्दै अध्ययन गर्ने ।
४. सार्थक र सफल जीवनका लागि गतिशील, मेहनती र संघर्षशील रुपमा कार्यरत रहने ।
५. सही ज्ञान आर्जनका लागि वर्ग संघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोगको विधि प्रयोग गर्न नभुल्ने ।
६. शारीरिक र मानसिक श्रमप्रिय संस्कृतिको भावनालाई दह्रो रुपमा आत्मसात गर्दै “सादा जीवन उच्च विचार ,कडा र निरन्तर श्रम–संघर्ष”को मूल मान्यता लाई जीवनको आदर्श बनाउने ।
७. कथनी कम तर करनी बढी, सिक्दै पनि गर्ने तर गर्दै ज्यादा सिक्ने, सुनेर कम तर देखेर–भागेर बढी गर्नेतिर विशेष रुपमा अग्रसर हुने ।
अन्तमा ः अहंता, अराजकता, उदण्डता र मूर्खतालाई तिलाञ्जली दिंदै अनवरत रुपमा विनम्र,जिज्ञासु,अथक र सु–सँस्कृत नागरिक बन्ने ध्याउन्नमा लागिरहनु नै हाम्रो जीवन, समाज,देश र विश्वकै भलो–हितमा हुन्छ । दश बर्षे जनयुद्धमा आफनो अमूल्य जीवन आहुत गर्ने महान शहीदहरु, वेपत्ता योद्धाहरु, घाइते अपाङ्ग योद्धाहरु सवैलाई विशेष स्मरण, सम्मान तथा शिरोपर गर्दै जिन्दगीको डुङगा खियाउनु पर्छ । असम्भव केही पनि छैन ।
विष्ट –जनयुद्ध र सरकारमा समेत दुई पटक मन्त्री भईसकेर पनि अहिले आधुनिक कृषिका नमुना पात्र बनेका छन् ।

