कसरी मानु म
तिमी मेरो रक्षक हौ भनि
निर्मलाको पछ्यउरी च्यातिदा
न्यायको भिख माग्दै
तिम्रा दैलो चाहार्ने
उनका बाबालाई
तिमी पागल घोषणा गर्छौ
कसरी ठानु म
तिमी रास्ट्र सेवक हौ भनि
आफ्नो महल ठडाउन
जनताको झुपडीमा
तिमी शोषण गर्छौ
कसरी सहु म
मनको जलन
लिपुलेक र लिम्पियाधुरा मिचिदा
तिमी रात्री भोजमा ह्विस्किका
गिलास जुदाउछौ
कसरी रहु म
तिम्रो आदर्श चेला
नैतिकतालाई रक्षानमा फाल्दै
आफ्नो कुर्सी जोगाउन
तिमी अरुको पार्टी फुटाउछौ
हो,
उठाउन मन छैन मलाई
तिम्रो बिरुद्ध अवाज
चलाउन मन छैन मलाई
तिम्रो बिरुद्ध कलम
तताउन मन छैन मलाई
तिम्रो बिरुद्ध सडक
गाउन मन छैन मलाई
तिम्रो बिरुद्ध गित
बोल्न मन छैन मलाई
तिम्रा बिरुद्ध शब्द
जलाउन मन छैन मलाई
तिम्रो बिरुद्ध मसाल
तर,
कसरी चुप बसु म
भोको पेटले रोटी माग्दा
तिमी डण्डा वर्षौउछौ
कसरी लगाउ म
मेरो पेनमा बिर्को
लोकतन्त्रमा विचार राख्दा
तिमी अपराधी झैँ तर्साउछौ
कसरी बसु म
खुट्टाहरुमा जन्जीर बाधी
इन्कलाबको नारा लाउनेलाई
तिमी ताकी ताकी गोली ठोक्छौ
कसरी गाउ म
तिम्रो लागी गित
काम गर्नेलाई पाखा लगाई
तिमी घुस्याहालाई बोक्छौ
कसरी बाधु म
मुखमा पट्टी
भ्रस्टाचारीको बोरोध गर्नेलाई
तिमी देशद्रोही भन्दै
जेलमा कोच्छौ
कसरी निभाउ म
मेरो हातको मसाल
सपनाको बाटो हिड्नेहरुलाई
तिमी दुश्मन ठान्दै
प्रतिबन्ध रोज्छौ
त्यसैले त,
देख्दै छु आज
तिमी सीसमहलमा
हर रात पश्चातापको
आगोमा जल्दै छट्पटाईरहेछौ
क्रान्तिका रक्तवीजहरु
हिरासत र जेलका चिसो भुइमा
मुक्ति या मृत्युको
सपना अंगाल्दै
आनन्दले निदाईरहेछन् !!
-क्वारेनटाइन डायरी