आमा! लामो समय पछि एक्कासी सपनिमा देखे।भन्दैथ्यौ-बाबु ! बाहिर त निस्केको छैनस् नि?सकभर बाहिर ननिस्कनु; निस्कनै पर्ने भए मास्क लगाएर निस्कनु।खानेकुरा सकिएला,भोकै परिएला सबैको जगेर्ना गर्नु।प्रहरीको लाठी प्रहार बाट जोगिनु।
कागको कराई संगै झसङ्ग ब्युझिएछु।
बाहिर सिमसिम पानी परिरहेको रै’छ । कहिलेकाही तिहारमा पटका पट्के झै झिलिक्क गर्दै गर्जेको आकाश बिस्तारै मौन देखिन थाले जस्तो।घर संगैको आरुको रुखमा बसेर का….का… गरि कराईरहेको काग एक्कासि भुरुरु गरि उढेर गयो; लाग्यो मलाई नै उठाउन कराए जस्तो। ज्यान भारी भयो,टाउको पनि थोरै दुखिराखेको रै छ ।आखाबाट आशु बगेको रेखा ऎनामा हेरे पछि बल्ल थाहा भो। खै,आज जागर चलेन त्यति अनि ओछ्यानमै झोक्राएर बसिरहे।
भित्ताको घडिले बिहानको ५ बजेको सङ्केत गर्यो । कोरोना सङ्क्रमण बारे न्युज अप्डेटको लागि फोनको स्क्रिन तर्फ औलाहरु बड्न थाले।सरर हेरेपछि फेसबुक,टुइटर तिर पनि एक नजर लगाए। अनगिन्ती फोटाहरुमा चाउरी परेको अनुहार अनि बिचमा सिउदो चिरेको,कसैको निधारमा टीका,सेतो- कालो कपाल संगै अलि पोटिला चिटिक्क परेर रंगिन कपडामा मुख हेर्ने दिनको शुभकामना पो दिन थालेका रै’छन।हिजो अस्ति कोरोना,लक डाउनको अप्डेट गर्ने आफन्तहरू पनि खुशी साथ रमाइलो गरेको देखियो।
हत्तपत्त कोठाबाटै आमा! भनेर चिच्याउदै बाहिर निस्कदै गर्दा ढोका अगाडीको दराज भित्र राखेको त्यो तिम्रो सम्झनाको अन्तिम चिनो तिम्रो तस्बिरमा गएर टक्क रोकियो ।आफुलाई सम्हाल्नै सकिन केही बेर त।हिजो अस्ति आकाश बाट खसेको असिना पानी जसरी मेरो आखाहरु बाट पनि मुल फुटेर अनायासै बर्सिन थालेछन् । तस्बिर बिस्तारै धमिलो देखिन थाल्यो अनि अलिक नजिक गएर हेरिरहन मन लाग्यो। तिम्रो त्यो रातो बुट्टा भएको ढाकाको चोलिमा सजिएको फोटो निकालेर पुछ्दा पनि धमिलो गएन तर एक्कासि दाहिने हातले आशु पुछिएपछी तिम्रो सफा चेहरा छर्लङ्ग देखियो ।भन्थ्यौ नि आमा जति पोले पनि घामै प्यारो,जति पिटे पनि आमै प्यारो।तर फेरि तिम्रो पिटाइ खान मन लाग्यो। तिमीले बच्चामा बा ले पिट्दा तानेर जोगाउन पिटे जस्तै गरि भगाउथ्यौ।सबैले आफ्नो आमालाई आमा भनेर बोलाउदा ,बोल्छन् तर तिमी किन बोल्दैनौ,पहिले त है भन्थ्यौ त।
उहिले सन्तानले डाडाकाडा ढाकुन भनी दिने आशीर्वाद अहिले बिश्वभरी छरिन पुगेका छन् । कहाँ पुगेका छैनन् आमा तिम्रा सन्तान तर नपुग्नु पर्ने ठाउँमा पनि पुगेका छन् । भोको पेटले डोर्याएर भनौ कि रहरले तिमी संगको काख छुटाएकै हो। तिमीलाई बिर्सेका पक्कै छैनौ,तर सम्झेन भनेर चित्त नदुखाउ है आमा।बाँस फरक भएपनी आश त हुदोरहेछ नि।टुहुरो मेरो कोहि नहुदा त तिमीलाई सम्झेकै छु।चित्त नदुखाउ है?फेसबुक तिर तिम्रो तस्बिर पोस्ट्याउन सकिन किनकी तिमी संगको मेरो आफ्नै फोटो खिच्ने रहर हुदाहुदै त खिच्न पाईएन।जिन्दगी बाच्दा साचेका अनगिन्ती सपनाहरू त पूरा गर्न नसकेको बबुरोले जिन्दगी पछिका यो फेसनमा पनि पूरा गर्न असमर्थ भए; फेरि तिम्रो ईच्छा पनि त होईन नि।
” जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी” भनेर स्कुल पढ्दा रटेको लाईन त घरबाट टाढा हुदा त खुब सम्झना आउने तर आमा! तिमीले भन्थ्यौ नि बचेरा दिन भर जता गए पनि साझ त घर फर्की हाल्छ्न नि,खै त तिमीले यो कुरा बुझेको? गाला मुसार्दै पिर नगर बाबु,दिनहिनका दिन पक्कै आउँछ भनेर मलाई सम्झाउदै गर्दा त्यो दिन आएनौ सम्म नि भन्थ्यनौ त।अरुको लाख आमाको काख भन्ने उखान सुनेको त थिए तर त्यसको अर्थ बुझ्नै पाईन कि त तिमीले सिकाउनै बिर्स्यौ?
म अहिले जहाँ जसरी छु,त्यो मेरो मात्र दु:ख ले हैन आमा! त्यो तिम्रो फाटेको धोति,चुटिएर गास्दै लगाएको चप्पल संगै भुईमा प्वाल परेको चप्पल बाट काडाले घोचेर बनाएको घाउले गर्दा काममा जान नपाएर खान नपाएका दिनहरुले,चाडबाड आउँदा साहु संग ऋण माग्दा तिमीले लगाएको कानको स्यानो टप मन अमिलो पारी बन्धकी राखेको दिन साहुले लामो जुँगा मुसार्दै छाडेको हासोको डकार।गाउँले सबैले भन्थे – यो टुहुरोलाई मेरो घरमा गोठालो बनायौ भने टन्न मिठो खान,लाउन पाउछौ तर सहायद, तिमी मलाई आफूबाट छुटाउन चाहान्नथ्यौ अनि घर फर्कदै गर्दा बाटोमा सम्झाउदै भन्थ्यौ- धेरै पढ् है बाबु,म तलाई दशैमा नयाँ कपडा किनिदिन्छु।
मलाई धेरै त थाहा थिएन तर मुन्टो मात्रै हल्लाउथे।स्कुल पढ्दा गरिबिले अरुको जडौरी पाईन्टलाई काटेर कट्टु सिलाई दिन्थ्यौ।सिसा कलमको छोटो टुक्रा भेट्यौं भने बासको मसिनो प्लामा घुसारेर लामा बनाई दिन्थ्यौ,अरुले फालेका कापीका पानाहरु जम्मा गरि धागोले सिलाएर अरुको जस्तै नयाँ बनाई दिन्थ्यौ।पछि आफैले पनि त्यही सिकि ठुलाले प्रयोग गरिसकेको कापीहरु जम्मा गरि पानीमा भिजाएर लेखिएको पखाली घाममा सुकाएको कापिहरुलाई नयाँ बनाईयो।पछि जब हरेक वार्षिक परिक्षामा पहिला हुन्थे,तिमीले अहिलेकाले जस्तो
बधाई! दिन जानेका थिएनौ त्यसैले त त्यो
बधाई भन्दा निधारमा लागाईएको रातो टीका,हातभरि नयाँ मोटा कापी कलमहरु लिन अगाडि बोलाउदा तेरो नि नाम बोलायो त भनेको बेला मैले पुलुक्क तिम्रो अनुहार तिर हेर्दा खुशीले रातो भएको त्यो क्षण लाग्थ्यो एकैछिन भए पनि गरिबीले थिचिएको आमा तिम्रो अनुहारमा पनि कस्तो सुहाउने रै’छ – हासो;त्यो खुशी ।हो,आमा! तिमी संगको त्यही फोटाले फेसबुक भरी भाईरल बनाउन मन थियो अहिले तर के गर्छौ आमा! त्यो बेला हामी क्यामेराले फोटो खिच्नु भनेको त धेरै माथिको सपना तै पनि तिम्रो परिश्रमको फल अन्जान मै भए पनि खेर नफालेकोमा अहिले सम्झदा गर्व लाग्छ।
आज देख्दा राम्रो देखिने सुवास बिनाको प्लास्टिकको फूल जस्तो सम्बन्ध प्रति शङ्का गर्छन् । घर,पैसा त सकिए पछि पनि फेरि कमाउन सकिन्छ तर आमा जिन्दगीमा एक पटक मात्रै पाईने यो अनौठो जिन्दगीको परिभाषा आफैले बुझ्न सकिराखेको छैन चाहे तिमीले भन्दा धेरै नै पढेकै भएर नि किन नहोस् ।संसारको बहुमुल्य शिक्षा त सुरुवातको दिन देखि नै तिमी बाटै पाएको हु।आफ्नो सन्तानको लागि आमाले गर्न नसक्ने कुरा के नै छ र दुनियाँमा ।त्यसैले त आफुले भोकै बसेर भए पनि मीठो,मसिनो खुवाउथ्यौ। आफुले पटुकी बाधेर भए पनि खोबिल्टो परेको त्यो भोको पेटलाई पटुकिले ढाकेर आफु अघाएर पेट ठुलो भा’को नाटक गर्दथ्यौ।बिस्तारै बुझ्दै छु आमा आफुले खादा मासुको १ चोक्टा भए पनि मेरै भागमा हालेर मलाई हड्डी मात्रै परेछ भन्दै थपिदिनथ्यौ। मेलापात गरेर साझ घर फर्कदा आफुले जोगाएर ल्याएको खाजा घर आएसी बोलाएर दिन्थ्यौ।
भन्थ्यौ- हरेक पटक मातातिर्थ औंशिको चोखोपन आफुलाई मिठो लाग्छ।अनि अरु चिज संगै केही पोका दिन्थे ।एक बर्ष त छुटेसी तिमीले मुखै फोरेर भन्यौ- खै त चोखोपन,अहिले छैन?अनि मैले ढाट्दै भनेको थिए – झोलामा छ।अनि तुरुन्तै पसलबाट ल्याएको थिए।लाग्थ्यो त्यस पछिको तिम्रो मुहारको चमकता त एउटा बच्चाले रोएर जितेपछि को खुशी उस्तै लाग्थ्यो ।हरेक बर्ष आजकै दिन अरु केही नभए पनि चोखोपन तिम्रै तस्बिर अगाडि राखेको छु तर पनि कुनै फरक अनि खुशी देख्दिन,….किन आमा म संग रिसाएको छौ ??
* पदमकुमार श्रेष्ठ ‘अरबिन्द’