कविता,
कुनै कामुक उत्तेजनाबाट
म बहुलाएको होइन रत्तिभर
आसक्ति पलाएर मनभित्र
खोजेको पनि छैन तिम्रो सामीप्यता
कति उद्वेलित भैरहन्छौ शङ्काले
तर्सिरहन्छौ अनिद्रामा ।
होइन हुँदै होइन तृष्णा
कुरूपताको पराकाष्ठा जस्तै नग्नता
कहिल्यै सोचेको पनि होइन उदाङ्गो
यो त बिल्कुल हेराइ हो परिरहेको हिउँ
मान कि
कवि स्निग्ध मुस्कान खोजिरहेछ लहडमा ।
हरेक बिहान तिमीले उत्साह लिएर
आफ्नो आङ निहार्दै गर्दा
कविता,
म तिमीमा युगको चित्र देख्दछु
उस्तै आशा सँगालेर मेरी आमा पनि
मलाई ऊर्जा भर्दछिन्
मान कि एक हुल उत्साह
भर्खरै मेरै मझेरीमा पाहुना लागेका छन्
कति सहजै मादकता छर्दछ्यौ तिमी
झुल्के घाम नझुल्कँदै उमङ्गले
पोखिदिन्छ्यौ आँगनैभरि ।
मेरा शब्दहरू तिमीमै केन्द्रित
मेरा भावना तिमीमै समर्पित
कविता, म सिँगार्छु तिमीलाई
निहार्न देऊ मलाई रातैभर
म भर्न चाहन्छु तिमीमा इन्द्र धनुष
रङ्गाउन चाहन्छु खाली क्यानभास ।